धरान । नेकपा एमाले विभक्त भएलगत्तै नेताहरूको कित्ता काटाकाट चलिरहेको छ । पार्टी फुटेलगत्तै एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू माधवकुमार नेपालसँग रहेको जनाएपश्चात् गठित नयाँ दलमा गौतमको पनि तस्बिर राखिएको थियो ।
निर्वाचन आयोगमा दर्ता गर्नेक्रममा नेकपा एकीकृत (समाजवादी) भनी दल दर्ता गरिएको छ । अहिले प्रमाण पत्र आउने चरणमा छ । सोही पार्टीले तयार गरेको ब्यानरमा उपाध्यक्ष गौतमको पनि तस्बिर राखिएपछि उनको सचिवालयले आपत्ति जनाएको छ ।
सचिवालयले एक विज्ञप्ति जारी गर्दै उपाध्यक्ष गौतम एमालेमै रहेको जनाएको छ । नेकपा एकीकृत समाजवादीको ब्यानरमा तस्बिर राखिनुलाई आपत्तिजनक भनी व्याख्या गरेको छ । गौतमका स्वकीय सचिव दीपक टमाटाले आइतबार विज्ञप्ति जारी गर्दै उपाध्यक्ष गौतम एमाले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट रहेको सत्य भए पनि गौतम अन्य पार्टीमा नगएको स्पष्ट पारेको छ ।
समाजवादीद्वारा निर्मित ब्यानरमा मध्यभागमा नेपाल छन् भने बायाँतिर वरिष्ठ नेता झलनाथ खनाल र अर्कातर्फ गौतमको तस्बिर छ । उक्त तस्बिर सामाजिक सञ्जालदेखि विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएको छ । सोही विषयलाई लिएर स्वकीय सचिव टमाटाले विज्ञप्ति जारी गर्दै गौतम समाजवादीमा गएको भ्रम सिर्जना गर्ने गरी तस्बिर प्रकाशित गरिनु आपत्तिजनक रहेको जनाइएको छ । जसलाई चरित्र हत्यासम्मको संज्ञा दिइएको छ । गौतम हालसम्म एमालेमै रहेको जनाउँदै नेतृत्वको कार्यशैलीप्रति मतभेद हुनुलाई सामान्य रूपमा लिनुपर्ने तर्क गरिएको छ ।
केही दिनअगि भने माधव नेपाल नेतृत्वको पार्टीतर्फ आफ्नो पनि समर्थन रहेको जनाइएको अर्का स्वकीय सचिव शैलेन्द्र राउतले उल्लेख गरेका थिए । अहिले राजनीति वृत्तमा नेकपा एमाले विभाजनलाई लिएर बहस र छलफल भइरहेको छ भने एमालेको दोस्रो तथा तेस्रो पुस्ताहरू एकताको पक्षमा रट लगाइरहेका छन् ।
माधव निकट मानिने दोस्रा तहका नेताहरूले अध्यक्ष केपी शर्मा ओलीलाई दुई दिनको समय दिएर पार्टी एकतामा स्पष्ट विचार ल्याउनुपर्ने जनाइएको छ ।