मिथिला क्षेत्रलगायत मुलुकभर ‘राखी’ पर्व मनाइँदै छ । साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातका नाडीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यस पर्वलाई मिथिलामा ‘राखी’ भनिने गरिएको हो । पर्वका लागि दाजुभाइ तथा दिदीबहिनीको तयारीले सम्पूर्ण मिथिला नै आज राखीमय देखिँदो छ ।आज एकाबिहानैदेखि यस क्षेत्रका बजार खुलेका छन् । रङ्गीचङ्गी ‘राखी’ जताततै बेच्न राखिएका छन् । पसलमा आफ्ना दाजुभाइका लागि विभिन्न रङका रक्षासूत्र किन्न बस्तीका चोकचोकमा मिथिलानी (मिथिलाका नारी)को भीड नै देखिएको छ । राखीसँगै मिथिलानी दाजुभाइलाई खुवाउन मिष्ठान्न परिकारका जोहोमा लागेकाले मिठाइ पसल पनि भरिभराउ छन् ।पर्वका लागि दिदीबहिनीको राखी बाँध्ने निम्ता मान्न टाढाटाढा बस्ने दाजुभाइ घर फर्केका छन् । मिथिलामा यस पर्व विवाह भएका दिदीबहिनीले आफ्नै घर वा माइतमा सुविधाअनुसार मनाउँछन् । अविवाहित चेलीको त दाजुभाइकै घर आफ्नो भएकाले घरमै पर्वका तयारीमा किशोरी र मैथिल नवयौवना व्यस्त देखिएका छन् । स–साना नानीहरुका घरका अभिभावकले सहयोग गर्दछन् ।