धरान । विशेदमा रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाल संघले नागरिकता विधेयकको मुद्दालाई फेरि चर्चामा ल्याएका छन् ।
कानुन तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग भेट गर्दै दुई वर्षदेखि संसद्मा विचारधीन नागरिक विधेयकलाई छिट्टै संसद्मा पारित गर्न ध्यानाकर्षण गराए । संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा कानुन मन्त्री कार्कीलाई भेट गरेका थिए । विदेशमा रहेका नेपालीहरुले नेपाली नागरिकता पाउनुपर्ने मागलाई उठाउँदै आइरहेका छन् ।
अध्यक्ष पन्तले यसपटक पनि विधेयक पास नगरिकनै संसद् अन्त्य भएपछि नागरिकता विधेयकलाई चाँडो पारित गराउनका लागि आग्रह गरे । उनले विधेयक संसद्मै अड्किँदा गैरआवासीय नेपाल ऐन संशोधनमा समेत प्रभावित बनेको बताए । नेपाल सरकारको सहभागितासहित गैरआवासीय नेपालीले १० अर्बको लगानी भित्र्याउन सुरु गरिसकेको जानकारी समेत दिए ।
संघका नागरिकता निरन्तरता सम्बन्धी स्रोतव्यक्ति सरोज दाहालले नागरिकता विधेयक अड्किँदा देखिएका समस्या र प्रगतिबारे बैठकमा अगवत गराए । एनआरएन डेभलपमेन्ट फन्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले गैरआवासीय नेपालीहरूको लगानीलाई प्रोत्साहन गर्दै लगानीका लागि देखापरेका समस्याहरू छिट्टै सम्बोधन भएमा ५० अर्बसम्मको हुन सक्ने जानकारी दिए ।
मन्त्री कार्कीले नागकिता विधेयकमा गैरआवासीय नेपालीको विषयमा कुनै समस्या नरहेको भन्दै मिल्न बाँकी असहमतिलाई टुंग्याएर छिट्टै विधेयक पास गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले विदेशमा रहेका नेपालीप्रति सरकार सधै उदार रहेको बताए । संविधानमा व्यवस्था भए बमोजिम र आवश्यक परे नीतिगत सुधार गरेर गैरआवासीय नेपालीका माग सम्बोधनका लागि पहल गर्ने उनले प्रतिबद्धता गरे ।