धरान । सुनसरीको इटहरीमा अब घरमै बसी बसी कर तिर्न सकिने गरी करदाता पोर्टल सुरु गरिएको छ । 

इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले आफूले तिर्नुपर्ने कर तिरेर पोर्टलको शुभारम्भ गरे । अब इटहरीवासीले सम्पत्ति कर, व्यवसाय कर र बहाल कर तिर्न सक्ने भएका छन् । 

कर तिर्नेक्रममा इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले पनि घरबाटै कर तिरेकी छन् । उनी अहिले घुँडाको शल्यक्रिया गरी घरमै स्वास्थ्य लाभ गरिरहेकी छन् । नगर प्रमुख चौधरीले इटहरी उपमहानगरलाई पेपरलेस बनाउने अवधारणाअनुसार अनलाइनबाटै कर तिर्ने सेवा सुरु गरिएको बताए । 

उनले चुनावी घोषणा पत्रअनुसार आफूले ७५ प्रतिशत कार्यान्वयन गरेको दाबी पनि गरे । राजस्व प्रशासन शाखा प्रमुख नवीन भट्टराईले मोबाइलबाटै तिर्नुपर्ने करको विवरण, लेखाजोखा गर्न र तिरीसकेपछि बिल प्रिन्ट गर्न पनि सकिने जनाए । कर भुक्तानी गरेको हकमा सम्बन्धित व्यक्तिको इमेलमा बिल आउने र मोबाइलमा तत्काल जानकारी आउने व्यवस्था गरिएको छ ।