धरान ५ सुन्दर बस्तीमा एक युवाको रहस्यमय मृत्यु भएको छ ।  ट्यांकीभित्र शव भेटिएको छ । 

आफ्नै घरको ट्यांकीभित्र विनोद लिम्बूको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार घटनास्थलको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ । 

नजिकै ह्याम्मरलगायतका धारिलो हतियार बरामद भएको छ भने रगतका टाटाहरु देखिएको प्रहरीको भनाइ छ । मृतककी श्रीमती वैदेशिक रोजगारीका लागि इजरायलमा रहेको स्थानीयले बताएका छन् ।

मृतककी श्रीमतीले बारम्बार फाेन गर्दा नउठेपछि छिमेकीलाई फोन गरेकी थिइन् । छिमेकीको पनि फोन नउठेपछि घरमा आएर हेर्दा ट्यांकीमा शव फेला परेको स्थानीयले बताएका छन् । आज साँझ ५ बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।  

प्रहरीले घटनाकाे मुचुल्का उठाएकाे छ । विस्तृत अनुसन्धानमा प्रहरी लागि परेकाे इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।