मोरङको सुन्दरहरैँचा नगरपालिका १० विराटचोकस्थित खगेन्द्र थापाले संचालन गरेको सुनचाँदी पसलमा हतियार देखाएर लुटपाटको प्रयास गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शिव पञ्चायन ज्वेलर्समा लुटपाटको प्रयास गर्ने समूहलाई प्रहरीले मंगलबार राति अत्याधुनिक हतियारसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुन्दरहरैंचाका सन्तोष राईसहित पाँच जनाको समूह छन् ।
अहिले अनुसन्धानको क्रममा रहेकाले प्रहरीले पक्राउ परेकाहरूको नाम गोप्य राखेको छ ।
‘घटनामा संलग्न भएकालाई प्रक्राउ गरिएको छ,’ मोरङ प्रहरी प्रमुख एसपी जनार्दशन जिसीले भने, ‘अहिले अनुसन्धानको क्रममा रहेका छौं । प्राविधिकसहितको सबै पक्षदेखि अनुसन्धान गर्दै आएका छौं ।’ मोरङ प्रहरीले पक्राउ गरेको समूहलाई बुधबार साँझतिर पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।
थापाले सञ्चालन गरेको सुनचाँदी पसलमा मास्क लगाएर आएको समूहले गत साउन १ गते दिउँसो लुटपाटको प्रयास गरेको थियो ।
पक्राउ परेकाको साथबाट अत्याधुनिक स्वचालित हतियार एसएमजी, एउटा कटुवा पेस्तोल र एउटा चाइनिज पेस्तोल र ७० राउण्ड विभिन्न हतियारका गोली बरामद भएको प्रहरीले जनाएको छ ।
लुटपाटको प्रयास सफल हुन नसकेपछि स्थानीयलाई हतियार देखाएर आतंकित बनाउँदै उक्त समूह उत्तर–पश्चिमतर्फ लागेको थियो ।
प्रहरीको विशेष टोली घटना भएको १२ औँ दिनपछि उक्त गिरोहसम्म पुग्न सफल भएको हो । लुटपाट गर्न खोजिएको दृश्य सुनचाँदी पसलमा रहेको सिसी टिभी क्यामेराको फुटेजमा पनि कैद छ ।
पक्राउ परेकाको साथबाट बरामद भएको एसएमजी नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको विशेष टोलीले मात्रै बोक्न पाउने हतियार हो ।