बिर्तामोड । सर्कसमा काम लगाइदिने भन्दै भारत पुर्याइएका एकै परिवारका दुई किशोरीलाई प्रहरी र माइती नेपालको संयुक्त टोलीले उद्धार गरेको छ ।
झापाको बिर्तामोड नगरपालिका–२ घर भएका १८ र १६ बर्षीया किशोरीलाई सर्कसमा काम लगाईदिने भन्दै भारतको मोतिहारी जिल्ला पुर्याइएको थियो । बिर्तामोडका लक्ष्मी दास र इटहरीका खुश्बु नाम गरेका व्यक्तिले उनीहरुलाई त्यहाँ पुर्याएको पाइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख सन्तोष आचार्यले जानकारी दिए ।
उनीहरू बेपत्ता भए पछि गएको साउन पहिलो साता घर परिवारबाट खोज तलासको लागि इप्रका अनारमनीमा हुलिया सहित निबेदन दिइएको थियो । निबेदनको आधारमा प्रहरीले तत्काल खोजतलास गर्दा भारतको मोतिहारी जिल्लाको छौडादानीमा राखिएको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सा र माइती नेपाल बिरगन्जको सहयोगमा उद्धार गरिएको आचार्यले बताए ।
उदार गरिएका किशोरीलाई अहिले माइती नेपालको पुर्नस्थापना केन्द्रमा राखिएको र आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको बताइएको छ । किशोरीलाई भारत पुर्याउने लक्ष्मी र खुश्बुलाई पर्सा प्रहरीले नियंत्रणमा लिई आवश्यक अनुसन्धान शुरू गरेको इप्रका अनारमनीले जनाएको छ ।