‘समृद्धिका लागि सिभिल बैङ्क’ भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैङ्कले विगतका वर्षहरू भन्दा व्यवसायको आयतनमा विशेष रूपमा अप्रत्यासित वृद्धि गरी एउटा नमुना बैङ्कको रूपमा आफूलाई प्रस्तुत गरिरहेको छ । भर्खरै मात्र बैङ्कले बजारमा ल्याएको निक्षेप योजनाहरू ‘खुत्रुके खाता’ र ‘सुपर प्रिमियम बचत खाता’ को बारेमा बैङ्कको प्रदेश नम्बर १ का प्रमुख राजेश ढकालसँग गरिएको कुराकानीः

सिभिल बैङ्कको सुपर प्रिमियम बचत खाता कस्तो बचत खाता हो र कस–कसले खोल्न सक्छन् ?
– न्यूनतम् मौज्दात २५ हजार रहेको सिभिल बैङ्क सुपर प्रिमियम बचत खातामा बैङ्कले ६.०१ प्रतिशतको सर्वाधिक वार्षिक ब्याजदरको अलावा मेटलाइफ बिमा कम्पनीसँगको सहकार्यमा खातावालालाई ६ वटा प्रमुख घातक रोगहरू (मेजर क्यान्सर, मेजर स्ट्रोक, पहिला हृदयाघात, पल्मनरी हाइपरटेन्सन, हार्ट भल्भ सर्जरी तथा कोरोनरी आर्टेरी डिजिज) का लागि दुई लाखसम्मको निःशुल्क औषोधपचार बिमा सुविधा प्रदान गर्नेछ । साथै मोबाइल बैङ्किङ सुविधा, इन्टरनेट बैङ्किङ सुविधा, एटिएम कार्ड, एसएमएस बैङ्किङ सुविधा पनि निःशुल्क रूपमै प्रदान गरिनेछ । र यो बचत खाता १८ वर्षदेखि ५८ वर्ष ननाघेका जो कोहीले पनि सजिलैसित बैङ्कमा गई खाता खोल्न सक्नेछन् । 

खुत्रुके खाताको बारेमा पनि केही भनिदिनुहोस् न ?
– अन्य बैङ्कहरूले प्रदान गरिरहेको रिकरिङ डिपोजिटहरूमा सर्तहरू तथा बन्देजहरू हुने गर्छन् भने योभन्दा पृथक रहेर सिभिल बैङ्कले आफ्नो रिकरिङ डिपोजिट ( खुत्रुके खातालाई सर्त तथा बन्देजमुक्त बनाइएको छ, जसमा बचत गर्न चाहने ग्राहकले दुई वर्षदेखि दश वर्षसम्मको खुत्रुके खाता रिकरिङ डिपोजिट खोल्छन्, अनि मासिक न्यूनतम् पाँच सयदेखि माथि जम्मा गर्दै जान्छन्, कुनै महिनामा कुनै कारणवश जम्मा गर्न असमर्थ भएमा पनि कुनै किसिमको पेनाल्टी तिर्नु पर्ने हुँदैन अनि आफूले निर्धारण गरेको समयसीमापश्चात् साँवा तथा ब्याजको एकमुष्ठ भुक्तानी पाउँछन् । अझ यस खातामा सुपर प्रिमियम बचत खातामाभन्दा १ प्रतिशत थप ब्याज पाइन्छ । केहीगरी अवधिको बीचमा आकस्मिक कारणले रकम आवश्यक भएमा सञ्चित रकम को ७० प्रतिशत ऋणमा नै बिना झन्झट रकम निकाल्न सकिन्छ ।

अहिलेको कोरोना सङ्क्रमणको जोखिममा खाता खोल्न केही अतिरिक्त व्यवस्था गर्नुभएको छ कि ?
– हो, गरेका छौं । कोरोना सङ्क्रमणको जोखिम भएकोले घरबाटै अनलाइनमार्फत् खाता खोलेर पछि आफूलाई पायक पर्ने शाखामा गई केवल दस्तखत गरी खाता सञ्चालनमा ल्याउन सकिन्छ ।  

सिभिल बैङ्कले यी दुवै खाताहरूमा उच्च ब्याजदर प्रदान गरिरहनुको पछाडिको कारण ?
– विद्यमान कोरोना सङ्क्रमणबाट सिर्जित कठिन अवस्थामा अन्य वित्तीय संस्थाहरूद्वारा निक्षेपमा प्रदान गरिएको ब्याजदरको तुलनामा ग्राहकको मेहनतको कमाइको कदर गर्दै आकर्षक ब्याज प्रदान गरिएको कारणले ग्राहकहरू यस बचत खाताबाट लाभान्वित हुनेछन् साथै हामी सर्वसाधारणको बैङ्कको रूपमा परिचित हुन तथा ग्राहकहरूलाई बढीभन्दा बढी प्रतिफल प्रदान गरी लोकप्रिय बैङ्क बन्ने जमर्को लिएका छौं ।