विराटनगर / २७ महीनाअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको तरकारी तथा फलफूल बजार अलपत्र परेको छ । बजार सञ्चालन नहुँदा १३ करोड ७६ लाख ५४ हजार ७१० रुपैयाँ (भ्याट बाहेक) निर्माण भएको बजारको संरचना खण्डहर बन्दै गएको छ । १४ करोड लागतमा विराटनगर महानगरपालिकासँगै जोडिएको कटहरी गाउँपालिका–१ जम्टोकीमा निर्माण भएको ‘कटहरी फलफूल तथा थोक बजार’ प्रयोग विहीन भएको हो ।

२०७५ चैत ३ गते ओलीले बजारको उद्घाटन गर्दै सञ्चालनका लागि प्रदेश सरकारलाई हस्तान्त्रण गरेका थिए । तर उद्घाटनको दुई वर्षसम्म सञ्चालन प्रयास गर्दा नसकेको सरकारले अन्तिममा विशिष्टीकृत सहकारी संघलाई जिम्मा दिएको थियो । एक वर्ष भाडा नतिर्ने गरी पाँच वर्षका लागि ठेक्का पाएको सहकारी संघले पनि बजार सञ्चालन गर्न सकेको छैन ।

विराटनगरको गुद्री बजारलाई स्थानान्तरण गरी व्यवस्थित गर्ने उद्देश्यले संघीय सरकारअन्तर्गतको व्यवसायिक कृषि तथा व्यापार आयोजना –प्याक्ट) ले तरकारी बजार निर्माण गरेको थियो ।

आधुनिक तरकारी तथा फलफूल बजारमा खुद्रा तथा थोक बिक्री कक्ष, क्यान्टीन, किसानलाई आराम कक्ष, प्रशासनिक भवन, शौचालय, पार्किङलगायतका पूर्वाधार निर्माण गरिएको छ ।

विराटगर ९ गुद्री चोकमा लाग्दै आएको बजारका ब्यापारी कटहरी रहेको बजारमा जान मानेनन् । आधुनिक भवनमा सर्न नमानेका व्यापारीले विराटनगर बसपार्क पश्चिम पट्टी निजी जमीन भाडामा लिएर बजार सञ्चालन गरिहेका छन् । व्यापारी नगएपछि प्रदेश सरकारको पटक पटकको प्रयास असफल भएको थियो ।

जनप्रिय माध्यमिक विद्यालय कटहरीको ४ विघा २ कठ्ठा २ धुर र १८ कठ्ठा ऐलानी जग्गामा निर्माण भएको बजारको भवन प्रयोग विहीन बनेको हो ।

तर सम्झौताको चार महीना सहकारीले बजार सञ्चालन गरेको छैन । सम्झौता लगतै नयाँ संरचना मर्मतका लागि भन्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसँग ४१ लाख बजेट माग गरेको छ । सञ्चालक समितिमा रहेका मन्त्रालयका प्रतिनिधिले हस्ताक्षर गर्न नमानेपछि बजेट विनियोजन भएन् । सहकारीले पानी पर्दा बाछिटाभित्र पस्ने भन्दै मर्मतका लागि बजेट माग गरेको थियो ।

ठेकेदार सहकारी संघका सचिव राकेश दाहालले निषेधाज्ञाका कारण बजार सञ्चालन गर्न नसकिएको बताए ।

कोरोना नियन्त्रणका लागि निषेधाज्ञा लागू हुँदा बजार चल्न नसकेको उनले बताए । अवस्था सामान्य बन्दै गएपछि बजार सञ्चालन गर्ने तयारी भएको उनले जानकारी दिए ।

आफै सञ्चालन गर्ने प्रयास असफल भएपछि बजार संचालनका लागि कटहरी फलफूल तथा तरकारी थोक बजार संचालन नियमावली २०७७ निर्माण गरेर विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघ लि. कटहरी मोरङलाई जिम्मा दिएको थियो ।

नियमावली अनुसार बजार सञ्चालनका लागि कटहरी फलफूल तथा तरकारी थोक बजार विकास समिति गठन गरिएको छ । समिति संयोजक प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय प्रमुख बलराम निरौलाले सहकारीले बजार सञ्चालन गर्न नसकेको बताए । सञ्चालनका लागि सहकारीलाई ताकेता गरिरहेको उनले बताए ।