विराटनगर । कोरोना संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञाको समयावधि थप एक साता लम्ब्याएको छ ।

प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जिल्लाभरि असार १४ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा अवधि थप गरेको हो ।

यसअघि जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले असार ७ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो । निषेधाज्ञाको समयसीमा आज राती १२ बजे सकिने भएकोले प्रमुख जिल्ला अधिकारी निरौलाले सोमबार आठौंं पटक निषेधाज्ञा एक साता लम्ब्याउने निर्णाय गरको हुन् ।

निषेधाज्ञा अवधिभरि असारबाट शैक्षिक सत्र सुरु हुने भएकाले भौतिक दूरी कायम गरी पुस्तक पसल बिहान १२ बजेसम्म खोल्न पाउने जिल्ला प्रशासन मोरङले व्यवस्था गरेको छ ।

मोरङ प्रशासनले सरकारले हालै जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम प्रशासनले निषेधाज्ञा थप कडाइ गर्ने जनाएको छ । निषेधाज्ञा उल्लंघन गर्ने, अवरोध गर्नेलाई अध्यादेशमा भएको व्यवस्थाअनुसार कारबाही गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइसकिएको प्रजिअ निरौलाले बताए ।

अध्यादेशमा कोरोना नियन्त्रण, रोकथाम र निदानमा अवरोध गर्नेलाई १ वर्ष कैद वा ५ लाख जरिवाना वा दुवै सजाय गर्ने प्रजिअलाई अधिकार दिएको छ ।

कोभिड–१९ महामारीको दोस्रो लहर सुरु भएपछि मोरङ प्रशासनले पहिलो पटक वैशाख १८ गते राति १२ बजेदेखि निषेधाज्ञा लगाएको थियो ।