विराटनगर/ अवैध रूपमा लुकाएर राखिएको पेस्तोलसहित लागूऔषध कारोवारीलाई प्रहरीले पक्राउ गरेको छ । 

इलका प्रहरी कार्यालय बेलबारीको टोलीले अवैध लागूऔषधको कारोबारीसहित तीन जनालाई बिहीबार पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा मोरङ सुनवर्षी नगरपालिका – ८ का  ६० वर्षिय  अब्बास मियाँ, सुन्दरहरैचा नगरपालिका ९ का चेवन कुमार धमला  र सोही स्थानका  बिशाल भन्ने खेम भट्टराई प्रहरीले लागूऔषध सहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

पक्राउ परेका मध्ये मियाँ लागूऔषध कारोबारी रहेको प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानदेखि खुलेको छ ।

मियाले अवैध रूपमा भारतदेखि लागूऔषध तस्करी गरि सुनवर्षीमा ल्याएपछि पूर्वको विभिन्न स्थानमा महंगो मूल्यमा बिक्री वितरण गर्ने गरेको खुलेको छ । प्रहरीको अनुसार मियाँले धमला र भट्टराईलाई लागूऔषध बिक्री गरेका थिए । 

दुर्घटना भएपछि लागूऔषध कारोबारी यसरी परे पक्राउ

सुन्दरहरैचा नगरपालिका ९ का चेवन कुमार धमला  र सोही स्थानका  बिशाल भन्ने खेम भट्टराईले सुनवर्षी नगरपालिका ८ का  ६० वर्षिय अब्बास मियाँदेखि प्रतिबन्धित लागूऔषध खरिद गरेर ल्याएका थिए ।

बिहीबार साझ ६:१५ बजे बेलबारी नगरपालिका वडा नं.–१० भाउन्ने जंगल स्थित पूर्व पश्चिम लोक मार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गर्दा धमला  र भट्टराई सवार भएको प्रदेश नं.१–०२–०४१ प ८८८७ नं. को मोटर साईकल दुर्घटनामा पर्यो ।

उनीहरुको मोटसाइकलले पैदल यात्री मोरङ बेलबारी नगरपालिका वडा ११ बस्ने १६ वर्षिय  प्रितम राई, सोही ठाउँका १५ वर्षिय सन्देश दास र कानेपोखरी गाउँपालिका वडा ७ का ६५ वर्षिय दिल कुमार योगीलाई ठक्कर दिंदा ५ जना नै घाईते भए ।

उनीहरूलाई उपचारको लागि बेलबारीस्तिथ नोवेल सामुदायिक अस्पताल लगिएको थियो । घाईते मध्येका धमला र भट्टराईलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले शंकास्पद देखी चेकजाँच गर्ने क्रममा लागु औषध ८९२ पिस नाईट्रोजन ट्याब्लेट र १३:८६० ग्राम चरेश अनुसन्धानको क्रममा फेला पारेको थियो ।

‘मोटसाइकल सवारको साथदेखि लागूऔषध फेला पारेपछि अनुसन्धानको क्रममा उनीहरूले ल्याउने ठाउँ खुल्यो,’ डिएसपी राईले भने, ‘ प्रतिवादीहरुले अवैध लागूऔषध सुनवर्षी नगरपालिकाका ६० वर्षिय अब्बास मियाबाट खरीद गरी ल्याएको खुल्यो । प्रहरीले उनको घरमा छापा हान्ने क्रममा कटुवा पेस्तोल  र त्यसामा लाग्ने दुई थान गोली पनि बरामद भयो ।

त्यसको साथै  मियाँको घरदेखि नाईट्रोभेट ६०० ट्याब्लेट डाईलेक्स डिसी २ बोतल र चक्कु थान–१ समेत फेला परेको छ ।’

पक्राउ परेका तीन जनलाई  इप्रका बेलबारीबाट थप अनुसन्धान भइरहेको डिएसपी राईले जानकारी दिए ।