पथरी । मोरङको कानेपोखरी–३, स्थित प्रकास खड्काको खेतबारीमा एक महिना अघि मृत फेला परेको १६ बर्षिय पुतली भनिने सीता चौधरीको हत्या गरेर फ्याकिएको भन्दै पीडित पक्षले प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् । 

प्रकास खड्काको घर छेउमा मृत भेटिएको सीताको कतै हत्या गरेर त्यहाँ फ्याकिएको भन्दै घटनाको सत्य तथ्य छानविन गर्नुपर्ने माग राख्दै जेठ २० गते पीडित परिवारले इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएको हो ।

बिहिबार १ नम्बर प्रदेश सभा सदस्य कृष्णकुमारी राई, पीडित पक्षबाट शोभा जोशी, गणेश गिरी, मृत्युक पुतलीकी बुबा पञ्जु चौधरी खवास र दाजु सन्तोष चौधरी खवास लगायत घरपरिवारलले इलाका प्रहरी कार्यालय पथरीमा गई घरधनी प्रकाश खड्कालाई पक्राउ गर्न किटानी जाहेरी दिएका छन् । खड्कासँगै मृतकका मामा प्रकास चौधरी र माइजु सञ्जु चौधरीलाई पनि पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै किटानी जाहेरी दिएको स्थानीय सोभा जोशीले बताइन । जेठ २० गते राती ८ बजे सम्म बस्दा पनि प्रहरीले जाहेरी लिन मानेन् तर प्रहरीले भोलि पल्टमात्र जाहेरी दर्ता गरेको जोशीले बताइन । 

13 1

सोही दिन प्रहरी कार्यालयमा मृतककी दिदीहरु लगायतका आफन्त र छरछिमेकीहरु निक्कै आक्रमक शैलीमा प्रस्तुत भएका थिए । बहिनीको मृत्यु भएको एक महिना बितिसक्दा पनि प्रहरीले अनुसन्धान नगरेको पीडित दिदी सुनिता चौधरीको सुनासो गरे । पीडित परिवारले भने किटानी जाहेरी दिएपछि प्रकाश खड्कालाई तत्काल पक्राउ गरेर कडा अनुसन्धान थाल्नु पर्ने माग रहेको छ । गाउँघरमा घटना लुकाउन खोजेको भन्दै मृतकका आफ्न्त र स्थानीयले जेठ २० र २१ गते घटना स्थलमा भेला भई सत्य तथ्य बाहिर ल्याउनु पर्ने प्रहरीसँग माग राख्दै आवाज उठाएका थिए । 

15 1

यस घटनामा प्रहरी अनुसन्धान भने फितलो देखिएको छ । प्रकाश खड्काकै भनाइलाई आधार मान्दा पनि मकै भाँच्न गएको १६ बर्षिय किशोरी १५ मिनेटको अन्तरमा खेतमा कसरी ढलिन त ? इलाका प्रहरी कार्यालय पथरीका डीएसपी कृष्ण खड्काले पुतलीको कोशी अस्पतालबाट पोष्ट मार्टम रिपोर्ट आएको बताए । पोष्ट मार्टम रिर्पोटमा पुतलीको योनी नर्मल अवस्थामा रहेको उल्लेख भएको डीएसपी खड्काको भनाइ छ । भिसेरा परीक्षणको लागि काठमाडौं पठाएको डीएसपी खड्काले बताए । 


घटना यसरी घटेका थियो 

कानेपोखरी–३ मा हरकपुरमा रहेको मामा प्रकाश खवासको घरमा बस्दै आएकी पुतली बैशाख २२ गते अपरान्ह करिब ३ बजे मृत अवस्थामा फेला परेकी थिइन । १६ बर्षिय चौधरी मामाको घर नजिकै रहेको प्रकाश खड्काको घरमा घरेलु (बस्तु सिहार्ने, घाँसपात गर्ने) काम गर्थिन । दिउँसो प्रकाश खड्काको घरमा काम गरेपनि बेलुका मामाको घरमा सुत्न जान्थिन । बैशाख २२ गते प्रकाश खड्काको घर नजिकै मकैबारीमा पुतली मृत अवस्थामा फेला परिन । पुतलीको शव भेटिएको वरिपरी मकैको बोट, झारपात मडारिएको थिएन । खेतमा घोप्टो परेको अवस्थामा पुतलीको शव भेटिएको थियो । 

मृत फेला परेको शवलाई प्रकाश खड्काको घरमा ल्याएर तेल तताएर मालिस गरिएको थियो । खड्काले कोही धामी झाक्री खोज्न पठाएको स्थानीय गणेश गिरीले बताए । शब भेटेपछि प्रहरीलाई खबर गर्नु पर्ने वा तुरुन्त अस्पताल पठाउनु पर्नेमा प्रकाश खड्का परिवार समेत लागेर तेल दलेर बसेको गिरीको भनाई छ । पुतलीको जीउ तताउनको लागि उनको दिदी भेना समेत लागेर तेल दलेको प्रकाश खड्काको भनाइ छ । त्यसपछि साँझतिर पुतलीको शवलाई रंगेली अस्पताल पु¥याइएको थियो । रंगेली अस्पतालले पोष्ट मार्टम गर्न नमाने पछि कोशी अस्पाताल विराटनगरमा लगियो । कोशी अस्पतालले पोष्ट मार्टम गरेर बैशाक २३ गते (मृत्यस भएको भोली पल्ट) बिहान डाँस खोलामा दाह संस्कार गरिएको थियो ।

खेतबाट उठाएर ल्याएपछि तेल लगाउन कपडा खोल्ने क्रममा मृतक पुतलीको योनीबाट रगत बगिरहेको देखेको दिदी जानुका चौधरीले बताइन । पुतलीको योनीमा रगत बगेको देखिएको र शवलाई तुरुन्त प्रहरी बोलाएर अनुसन्धान गराउनुको साटो तेल दल्ने, धामी खोज्न पठाउने काम खड्का परिवारले घट्नालाई अर्कोतिर मोड्ने प्रयास भएको पीडित पक्षको भनाइ छ । घट्ना स्थलमा झारपात पनि माडिएको थिएन, माटो पनि केही नभएकोले कतै हत्या गरेर त्यहाँ फालिएको हुनसक्ने मृतको ठुलोबुवा शिव चौधरीको भनाइ छ । 

पुतलीको शव भेटिएको खेतमा खुट्टाको पैला भिजाउने पानीको सतह भएको ठुलोबुवा शिव चौधरीको भनाइ छ । मृतक भेटिनु अघि सोज्ने क्रममा प्रकाश खड्काले बहिनी पानीमा डुबेर, सर्पले टोकेर मरेको हुन सक्ने भन्दै हल्ला चलाएको अर्का दिदी सुनिता चौधरीको भनाइ छ । १६ बर्षिय किशोरी खेतमा मृत फेला पर्नु, योनीमा रगत देखापर्नुले शंका पैदा भएको स्थानीय गणेश गिरीको भनाइ छ । कानेपोखरी ३ को वडा अध्यक्ष किर्तिमान मादेन लिम्बूले पनि घट्ना संकास्पद रहेको बताएका छन् । 

प्रकाश खड्का श्रीमति र छोराहरुसँगै बस्छन । खड्काको घरमा काम गर्ने पुतलीको प्रकाशले नै बलत्कार गरी हत्या गरेको हुनसक्ने भएको भन्दै पीडित परिवारले छानबिन गर्न प्रहरीसँग माग गरेका छन् । खड्काले भने आरोपको खण्डन गर्दै पुतलि हरियो मकै पोलेर खाने भनेर खेतमा भाँच्न गएको १५ मिनेटसम्म नआए पछि पत्नी सहित खोज्न गएको बताए । नभेटेपछि उनको मामाको घरमा पनि गएर सोधेको, सबैतिर हल्ला भएपछि खोजि गर्दा घरदेखि करिव सय मिटरको दुरिमा खेतमा घोप्टो परेर लडेको अवस्थामा भेटिएको बताए । पुतली लडेको ठाउँमा झारपात नमाडिएको खड्काले पनि स्वीकार गरे ।