विजयपुर/ भोजपुर वडानन्द–१४ का संगम ठटालले आत्महत्या गर्नुमा वडाध्यक्ष नै प्रमुख भुमिका रहेको भन्दै नगरिक समाजसहित ८ सङ्घ संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै ‘जातीय मुद्दा उब्जाएर मृत्युको उपहार खोज्ने हो वडाध्यक्ष जी?’ भन्दै अध्यक्ष झङ्कबहादुरलाई  प्रश्न गरेका छन् ।

विज्ञप्तिमा ठटाललाई आत्महत्या गराउन वडाध्यक्ष र प्रहरी भुमिका रहेको भन्दै दोशीलाई कार्वाही गर्न र पीडितलाई न्याय दिलाउन माग गरिएको छ । मंगलबार दलितका सामाजिक संस्था, राजनीतिक दलका दलित भातृ सङ्गठन र नागरिक समाजसहित ८ संघसंस्थाहरुले संयुक्त विज्ञप्ति जारी गर्दै दोशीलाई कार्वाही र पीडितलाई न्याय दिलाउन माग गरेका छन् । 

नेपाल दलित सङ्घका केन्द्रिय सदस्य रोहित विश्वकर्मा, दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य वविन्द्र रसाइली, मुक्ति समाजका केन्द्रीय सदस्य विमल रणपहेली र दुर्गा रणपहेली, दलित उत्थान ग्रामीण समाजका उपाध्यक्ष भुवनकुमार दर्जि, नागरिक समाजका संयोजक पर्शुराम तिवारी, दलित विकास समिति गोगनेका सचिव टी.एल विश्वकर्मा र षडानन्द नगरपालिकाका दलित अधिकारकर्मी गोविन्द विकले हस्ताक्षरित संयुक्त विज्ञप्ति जारी गर्दै न्यायको माग गरेका हुन् ।

संयुक्त विज्ञप्तिमा समाजिक विभेद भित्रको जातीय विभेद मानवताको कलङ्क हो । नेपालको संविधान २०७२, जातीय छुवाछुत सजाय ऐन २०६८ तथा छुवाछुत मुक्त राष्ट्र २०६३ को राज्यद्धारा नै उपहास भइरहेको  बेला षडानन्द–१४ का अध्यक्ष झङ्कबहादुर रोक्काले पनि त्यस्तै घट्ना घटाएको उल्लेख छ ।

वडाध्यक्ष रोकाको व्यवहारले सुशासन कायम गर्नुपर्ने दायित्व पाएका जनप्रतिनिधि नै शासन व्यवस्थालाई आफ्नो हातमा लिएर सन्तुलित समाजको संंचनालाई ध्वस्त पार्न उद्दत रहेको प्रष्ट देखिएको उल्लेख छ । माजव समाजमा दानवीय व्यवहारको उदाहरण अध्यक्ष रेक्का रहेको जनाएको छ । सङ्गमको आत्महत्या घट्नामा प्रहरी भूमिका र प्रहरी कार्यालयको गतिविधिले समाजलाई विचलित बनाउन खेलेको उल्लेख छ ।

अन्तरजातीय विवाहको न्यायिक परिणाम परिवार विचलन र संलग्न कर्ताको मृत्यु हो ? उमेर नपुगि भएको विवाहका कानुनी उपचारका क्षेत्रलाई निष्कृय बनाउन वडाध्यक्ष नै सक्रिय हुने विधि हो ? साथै ‘जातीय मुद्दा उब्जाएर मृत्युको उपहार खोज्ने हो वडाध्यक्ष जी?’ भन्दै विज्ञप्तिमा प्रश्न गरिएको छ ।

साथै कानुनलाई हातमा लिने वडाध्यक्षको सुरक्षाकर्मी बोया प्रहरी बनेको जनाएको छ । उनीहरु विज्ञप्ति जारी गर्दै घट्नाका दोशीलाई कार्वाहीको दायरा लिई पीडितलाई न्याय दिलाउन माग गरेका छन् । यदी आफ्ना मागलाई सम्बन्धित सरोकारवाला पक्षले कमजोर ठानी पीडित परिवारलाई न्याय नदिएमा थप आन्दोलनमा उत्रने पनि चेतावनी दिएका छन् । 

सङ्गमले १ वर्षको प्रेम पश्चात षडानन्द नगरपालिका–१३ की श्रेष्ठ थरकी केटीसँग जेठ–१० गते विवाह गरेका थिए । ११ गते वडाध्यक्षले प्रहरी लिई घरबाट जातीय विभेदजन्य गाली गलौच गर्दै प्रहरी कार्यालयमा लगेर बाल विवाह भएकाले छुट्टाई दिएको थियो । १२ गतेदेखि ठटाल बेपत्ता भएका थिए ।

१४ गते बेलुका नजिकैको जङ्गलमा भुण्डिएको अवस्थामा शव भेटिएको थियो । ठटालको मृत्यु हुनुमा विशेष गरेर वडाध्यक्षको नै भुमिका रहेको मृतकका आफन्त तथा अधिकारकर्मीसहित नागरिक समाजले दावी गर्दै आएका छन् ।