विजयपुर। भोजपुरको षडानन्द नगरपालिका–१४ का १८ वर्षीय सङ्गम ठटाल (परियार) र वडा–१३ की १५ वर्षीया श्रेष्ठ थरकी किशोरीले एक वर्ष लामो प्रेमपछि जेठ १० गते बालविवाह गरे । भोलिपल्ट वडा १४ का वडाध्यक्ष झङ्कबहादुर रोका र वडा कार्यालयमा कार्यरत विमल पराजुलीले सङ्गमको घरमा आएर ‘नयाँ बेहलाबेहुली कता गए’ भन्दै खिसी गर्दै प्रश्न गरे ।

रोका र पराजुली केही परमात्र के पुगेका थिए, प्रहरी पनि आइपुगेर ठटाल र किशोरीलाई चौकीमा लगे । चौकीमा प्रहरीले बालविवाह भएको भन्दै दुवै पक्षका अभिभावकलाई आ–आफ्ना छोराछोरी जिम्मा लगाए । तर, जेठ १२ गते अचानक ठटाल घरबाट बेपत्ता भए ।

जेठ १४ गते साँझतिर गाउँनजिकैको जङ्गलको रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला प¥यो । घटनाले एकाएक अर्कै मोड लिएपछि मृतक ठटालका परिवारले जनप्रतिनिधि र प्रहरीमाथि जातीय भेदभाव गरेको भन्दै प्रश्न उठाएका छन् ।

दलित र गैरदलित केटाकेटीबीच प्रेम भएर बालविवाह नै भए पनि आत्महत्या गर्ने गरी जनप्रतिनिधि र प्रहरीले शारीरिक र मानसिक तनाव दिएको आरोप मृतक सङ्गमका आमा सीताले लगाएकी छन् ।

उनले भनिन्, ‘१० गते राति १० बजेतिर छोराले श्रेष्ठ थरकी केटीलाई लिएर आयो । मैले समाजले स्वीकार्दैन, के गरेको छोरा भन्दा केटीले केही हुँदैन, बुबाआमालाई पनि जानकारी दिएको छु भनिन् । बालविवाह नै भएकाले उमेर नपुगेसम्म छुट्याउन सकिन्थ्यो तर, वडाध्यक्ष रोका र प्रहरीले शारीरिक तथा मानसिक तनाव दिएकाले मेरो छोराले आत्महत्या गर्न पुगेको हो ।’

छोराको मृत्युले शोकमै रहेकी सीताका अनुसार अध्यक्ष रोकाले ‘कोही नपाएर सुत्ने ओछ्यान पनि राम्रो नभएको दमाईसँग विवाह गरिस्’ भन्दै जातीय गालीगलौज गरे । बोयास्थित चौकीका असइ कुमार खत्रीको नेतृत्वमा रहेको टोलीले सङ्गम र किशोरीलाई चौकीमा लगेको थियो ।

चौकी जान लाग्दा केटी पक्षका मान्छे धेरै देखेपछि ‘म पनि कोही मान्छे लिएर आउँछु’ भन्दा प्रहरीले उल्टै हप्काएको सीताको भनाइ छ । चौकीमा पु¥याएपछि आफ्नो छोरालाई प्रहरीले ‘अब यसलाई सजाय त दिनुप¥यो नि’ भन्दै कुटेकोे सीताले बताइन् । प्रहरी चौकीका असइ खत्रीले भने जातीय गालीगलौज र हातपात नगरेको दाबी गरे । 

प्रहरीले सङ्गमलाई आमाकै अगाडि कुट्न थालेपछि ‘छोरालाई बचाइदिनुप¥यो’ भन्दै वडाध्यक्ष रोकालाई हारगुहार गर्दा ‘यस्ता मर्दा केही नहुने’ भन्दै थप जातीय विभेदजन्य गालीगलौज गरेको सीताले बताइन् ।

यस विषयमा वडाध्यक्ष रोकाले जातीय विभेदजन्य गालीगलौज भन्ने कुरा गलत भएको दाबी गरे । उनले आफूले सम्झाएको बताए । तर, बोयाकै एक दलित अधिकारकर्मीले नाम नखुलाउने शर्तमा वडाध्यक्षले गालीगलौज गरेको बताए ।

सङ्गमको पोष्टमार्टम रिपोर्ट आइसकेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी कृष्णकुमार चन्दले बताए । उनले पोष्टमार्टम रिपोर्टमा आत्महत्या नै भएको बताए । मृतक सङ्गमको साथमा भएको ‘सुसाइड नोट’ भने प्रहरीले आफन्तलाई देखाएको छैन । ब्लाष्टले पोष्टमार्टमको विषयमा कुरा गर्दा अनुसन्धानको क्रममा भएकाले भन्न नमिल्ने डीएसपी चन्दले बताए । उनले प्रहरीले कुटपिट गरेको कुरामा भने सत्यता नभएको दाबी गरे ।

आत्महत्या गर्न बाध्य बनाइयो
एक वर्षको प्रेमपछि अन्तरजातीय विवाह गरेका सङ्गमलाई वडाध्यक्ष रोकाले नै आत्महत्या गर्न बाध्य बनाएको मृतककी आमा सीताले बताइन् । उनले भनिन्, ‘वडाध्यक्षले छुटाए पनि राम्रोसँग सम्झाई बुझाई गरि दिएको भए आत्महत्या गर्दैनथ्यो होला । जातीय विभेदजन्य गालीगलौज र प्रहरीले पनि शारीरिक तथा मानसिक तनाव दिएर आत्महत्या गर्न बाध्य बनाए ।’

स्थानीय एक दलित अधिकारकर्मीले पनि आत्महत्या गर्न प्रहरी र वडाध्यक्षले नै बाध्य बनाएको आरोप लगाए । एमालेको भातृसङ्गठन मुक्ति समाजका केन्द्रीय सदस्य तथा दलित अधिकारकर्मी विमल रणपहेलीले पनि घटनाको यथार्थ बुझ्दा आत्महत्या गर्न बाध्य बनाएको देखिएको बताए ।

दलित मुक्ति मोर्चा नेपाल केन्द्रीय सदस्य तिर्लोचन लोहारले दलित र गैर दलितबीचको अन्तरजातीय विवाहमा जनप्रतिनिधि नै दलितको विपक्षमा लागेर आत्महत्या गर्न बाध्य बनाएको बताए । उनले वडाध्यक्ष रोकाले आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप लगाए ।

घटनाबारे सत्य–तथ्य छानबिन गर्न माग
वडाध्यक्ष रोका र प्रहरीले जातीय भेदभावजन्य गाली गरेर मानसिक र शारीरिक तनाव दिएकै कारण आत्महत्या गरेको ठहर गर्दै सत्य–तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग अधिकारकर्मीहरूले गरेका छन् । उक्त घटनाका विषयमा वैज्ञानिक समाजवादी पार्टी नेपाल भोजपुरले प्रेस वक्तव्य जारी गर्दै सत्य–तथ्य छानबिन गर्न र दोषीलाई कारबाही गर्न माग गरेको छ ।

पार्टी नेपालका भोजपुर संयोजक भूपाल साम्पाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा वडाध्यक्ष रोकाले जातीय अपमानजनक गालीगलौज गरेको, प्रहरीले पनि कागजातमा लेखिएको कुरा जानकारी नदिएको उल्लेख छ ।

वक्तव्यमा बालविवाह गरेको भन्दा पनि अन्तरजातीय विवाहमाथिको आक्रमण कै कारण घटना भएको उल्लेख छ । घटनामा वडाध्यक्ष र प्रहरीको भूमिका शङ्कास्पद रहेकाले सत्य–तथ्य छानबिन गर्न माग गरेको छ । मुक्ति समाजका केन्द्रीय सदस्य रणपहेली र दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य लोहारले पनि सत्य–तथ्य छानबिन गर्न माग गरेका छन्  ।

न्यायका लागि कानूनी प्रक्रियामा जान्छौँः मृृतककी आमा
छोरा सङ्गम ठटाल (परियार) ले आत्महत्या गर्न बाध्य हुनुमा वडाध्यक्ष रोका, प्रहरी र केटीका बुबाआमाको प्रमुख भूमिका रहेकाले कानूनी प्रक्रियामा जाने बताइन् । उनले वडाध्यक्षले घरदेखि प्रहरी चौकीमा समेत जातीय विभेदजन्य गालीगलौज गरेकाले आत्महत्या गरेको आरोप लगाइन् । प्रहरीले पनि मिलाउने भन्दै चौकीमा लगेर कुटपिट गरेपछि आत्महत्या गरेकाले कानूनी बाटोमा लाग्ने बताइन् ।