सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ८ दशगजा क्षेत्रबाट एक सय २ केजी गाँजा बरादम गरिएको छ । 

सीमा सुरक्षा बलको टोलीले दशगजा क्षेत्रस्थित मकैबारीबाट गाँजा बरामद गरेको हो । केही गाँजा भारततिर लगिएको स्थानीयले बताएका छन् । सशस्त्र प्रहरी बल उल्लटी बिओपीका प्रमुख महेश केसीको नेतृत्वमा खटिएको टोलीले मकैबारीबाट ५ बोरा गाँजा बरामद गरेको हो । २ बोरा गाँजा भारत छिराइएको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन् । 

विशेष सूचनाको आधारमा प्रहरी पुग्दा तस्करीमा संलग्नहरू भागेको जनाइएको छ । गाँजा तस्करी भइरहेको सूचनाको आधारमा सशस्त्र प्रहरी बल र सीमा प्रहरी चौकी शिसुवाबाट खटिएको टोलीले प्लाष्टिकमा बेरेर राखेको अवस्था गाँजा बरामद गरेको थियो । बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीलाई बुझाउने यतारी भएको प्रमुख महेश केसीले जानकारी दिए । सुनसरी क्षेत्रमा भारततर्फ गाँजा तस्करी हुँदै आएको छ ।