धरान । जेठ १३ गते धरान १५ स्थित अस्थायी प्रहरी चौकीका प्रहरीमाथि नै आक्रमण गर्ने १० जना समूहमध्ये ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

लेनदेनका विषयको घटनामा प्रहरी चौकीका प्रमुख असइ सुमन दाहालमाथि आक्रमणमा संलग्न ५ जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । त्यसमध्ये दुईजनाले धनकुटा प्रहरीमा आत्मसमर्पण गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार घटनामा संलग्नमध्ये २४ वर्षीय वीक्रम राई, २७ वर्षीय सिजन राई, २६ वर्षीय कालु भनिने सरोज लिम्बूलाई जेठ १८ गते नै पक्राउ गरिएको हो । धरान–५ देउरालीमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

त्यस्तै खोजी गर्ने क्रममा धनकुटामा ३० वर्षीय वसन्त राई, र ३२ वर्षीय रेगन लिम्बूले आत्मसमर्पण गरेका हुन् । उनीहरूलाई धनकुटाको छथर पोखरी–४ बञ्चरे क्षेत्रमा पुगेर लुकिछिपी बसेको अवस्थामा जनप्रतिनिधिमार्फत् प्रहरीसामु आत्मसमर्पण गरेका हुन् । प्रहरीको प्रदेश व्यूरो, सुनसरी र धनकुटाको प्रहरी टोली उक्त क्षेत्रमा सघन अप्रेसन सुरु गरिएको थियो । 

उनीहरू जेठ २४ गते पक्राउ परेका हुन् । उनीहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ ज्यानसम्बन्धी कसुरको दफा १८३ का १ अनुसार मुद्दा दर्ता भई अनुसन्धान अगाडि बढाइएको छ । आफूहरू असुरक्षित रहेको भन्दै धरान–१५ का विनोद राई र प्रसन्न लिम्बूले उजुरी दिन गएको बेला आक्रमण प्रयास गर्दा प्रहरीमाथि आक्रमण गरी फरार रहेका थिए । आक्रमणकारीमध्ये कोहीलाई २० हजार रुपैयाँ रकम दिन बाँकी रहेकाले घटना भएको केही दिनअघि पनि प्रहरी चौकीमा छलफल बसेका थिए ।