भण्टाबारी/ खेतमा जाँदै गर्दा सुनसरीमा एक दलित किशोरी बलात्कृत भएको एक साता बिते पनि आरोपितहरू पक्राउ परेका छैनन् । 

जेठ १७ गते देवानगञ्ज गाउँपालिका–२ की १७ वर्षीया किशोरी बलात्कृत भए पनि हालसम्म आरोपित युवा पक्राउ नपरेका हुन् । बलात्कारका आरोपित सोही वडाका २० वर्षीय युवा निरञ्जन पासवान फरार छन् ।

घटनालगत्तै स्थानीय प्रहरीले पीडित किशोरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरी पठाई जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षणपश्चात् भोलिपल्ट मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले बताए पनि दुई दिनअघि मात्रै मुद्दा दर्ता भएको बुझिएको छ ।

प्रहरीलाई चौतर्फी दबाव परेपछि मात्रै मुद्दा दर्ता गरिएको जनाइएको छ । 

पीडित किशोरीका अनुसार घटना भएको दिन बिहान ६ बजे गाउँकै दुईजना युवती साथीसँग खेतमा मकै टिप्न जाने क्रममा पासवानले उनलाई उखुबारीमा लगी बलात्कार गरेका थिए ।

उनले एक्कासि पासवानले आफूलाई हातपात गर्दै उखुबारीमा लगेर बलात्कार गरेको बताइन् । ‘म कराइरहे पनि पासवानले मुख थुनेर तीन घण्टासम्म बलात्कार गर्यो’–पीडित किशोरीले सञ्चारकर्मीसँग भनिन् । अन्य दुईजना साथीले बचाउन खोज्दा कुटपिट गरी भगाएको पीडित किशोरीले बताइन् ।

केही स्थानीयले गाउँमै पञ्चायत गरी घटना मिलाउन दबाव दिएका थिए । स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मीलगायतको सहयोगमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिएको पीडित परिवारले जनाएको छ । 

२ नम्बर वडाका वडाध्यक्ष मजलुम मियाँले आफूले घटनाबारे जानकारी पाउने बित्तिकै स्थानीय प्रहरीलाई जानकारी गराएको बताए ।

घटनाबारे छानबिनपश्चात् सत्यतथ्य बाहिर आउने उनले बताए । ‘घटनाबारे थाहा पाएपछि मैले इलाका प्रहरी कार्यालय देवानगञ्जलाई जानकारी गराएँ’ उनले भने, ‘प्रहरीले छानबिन गरी यथार्थ कुरा पत्ता लगाई दोषीलाई कानूनी कारबाही गर्नुपर्छ ।’ उनले अर्काको इज्जतसँग खेलवाड गर्ने अधिकार कसैलाई नभएकोले कडाभन्दा कडा कारबाही हुनुपर्ने बताए ।

जिल्ला अस्पताल इनरुवामा मेडिकल गराउँदासमेत बलात्कार भएको कुरा पुष्टि भइसकेकाले सत्यतथ्य बुझेर न्याय दिलाउनेमा पीडित परिवार आशावादी रहेको छ ।

‘जे नहुनुपर्ने हो, त्यो भइसक्यो’ उनले भने, ‘उजुरी दिएका छौं, अब प्रहरीले छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गरोस् ता कि समाजका अर्को कुनै चेलीबेटीले बलात्कृत हुनु नपरोस् ।’

यता जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले पीडित किशोरीको उजुरीका आधारमा जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको बताए । आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको उनले जनाए ।