धरान । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ मा बालविवाह भइरहेका सूचनाको आधारमा तीनजनालाई पक्राउ गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बेहुलीका बुबा सोही ठाउँका रामनारायण मण्डल, बेहुला इनरुवा नगरपालिका–४ का भरत मण्डल र बिहे गराउन भूमिका खेल्ने इनरुवा नगरपालिका–८ का सुरेन्द्र मेहतालाई पक्राउ गरिएको छ । रामनारायणले आफ्नो १७ वर्षीया छोरीलाई २४ वर्षीय भरत मण्डलसँग बिहे गराउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूलाई मुलुकी अपराध संहित २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरको दफा १७३ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको छ । जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । घटना जेठ २२ गते रातिको हो ।

विवाह भइरहेको अवस्थामा सिन्दुर हाल्न बाँकी रहेको अवस्थामा विशेष सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । नेपालको कानूनमा २० वर्ष उमेर नपुगी विवाह गर्न नपाउने कानूनी प्रावधान छ । २० वर्ष नपुगी विवाह गरेमा त्यसलाई बालविवाह भनी व्याख्या गरिएको छ ।