इनरुवा/ सुनसरीको साहेबगञ्जबाट स्रोत नखुलेको रकम १४ लाख २५ हजार सहित २ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा देवानगञ्ज गाउँपालिका ५ घर भएका बिनोद कुमार साह र रोशन साह रहेका छन् । सशस्त्र प्रहरीको साहेबगञ्ज बिओपीको टोलीले चेकजाँचको क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण सुनसरीका प्रमुख एसपी माधव प्रसाद पौडेलले मोटरसाइकलमा सवार दुई व्यक्ति स्रोत नखुलेको रकम सहित पक्राउ परेको पुष्टि गरे । ढकालले प्राप्त सुचनाका आधारमा चेक पोइन्ट खडा गरी जाँच गर्ने क्रममा उनीहरु पक्राउ परेको बताए । 

सशस्त्रले पक्राउ परेकाहरुको साथबाट विभिन्न बैंकका खाली भौचर समेत फेला परेको जनाएको छ । प्राप्त सुचना र स्रोत नखुलेको रकम फेला परेकाले पक्राउ परेका व्यक्तिहरु हुण्डी कारोवारी हुन सक्ने आशंका गरिएको छ । 

पक्राउ परेका व्यक्तिसहित उनीहरु सवार प्र०१–०२०४० प ५४९९ नम्बरको मोटरसाइकल र नगद भन्सार कार्यालयमा बुझाइएको ४ नम्बर गण सुनसरीले जनाएको छ ।