विराटनगर/ एक जना मजदुरको मृत्यु र अर्का एक गम्भीर घाइते हुने गरि भएको दुर्घटनामा कारमा सवार पाँच जना मध्ये चार जना व्याक्तिहरूले प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीका छोरा रोबिन भनिने रविन कार्कीले चलाएको सवारी दुर्घटना गराएको प्रहरीलाई बयानको क्रममा बताएका छन् । 

अनुसन्धानमा संलग्न प्रहरीका एक उच्च अधिकारीले दिएको जानकारी अनुसार बिहीबार साँझ साढे ७ बजे एयरपोर्ट रोड एशियाटीक होटल नजिक भएको दुर्घटनामा प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारमा सवार पाँच जना मध्ये चार जनाले दिएको बयानको क्रममा रोबिनले चलाएको कार दुर्घटनामा परेको प्रहरीलाई बयानको क्रममा बताएका हुन् ।

शनिबारसम्म कारमा सवारको बयान सकिएपछि मोरङ प्रहरीका विशेष प्रहरी टोली घटनालमा संलग्नलाई पक्राउ गरिन लागि परेको छ ।

प्रहरी स्रोतले दिएको जानकारी अनुसार घटनामा संलग्न रोबिनलाई खोज्न प्रहरीको टोली लागि परेको छ ।

‘कारमा सवारको बयान सकिएपछि उनीहरूले दिएको बयान अनुसार सवारी दुर्घटनामा संलग्नको पहिचान भएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिृकतले भने, ‘आइतबारसम्मा घटनामा संलग्न प्रतिवादीलाई पक्राउ गरिसक्नेछौं । अहिले हामी घटनामा संलग्न प्रतिवादीको खोजी कार्यमा रहेका छौं ।’

बिहीबार राती साढे सात बजे प्रदेश सांसद कार्कीले प्रयोग गर्दै आएको कारले पैदलयात्रीलाई ठक्कर दिदाँ ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका छन् । मृतक र घाइते विराटनगर–४ स्थित न्यु एभरेष्ट स्टिल उद्योगका कामदार हुन् ।

होटल एडमायरका  मापसे गरेपछि भएको थियो दुर्घटना

सुरक्षा स्रोतका अनुसार बिहीबार साँझ रबिनसहित ५ जना मध्ये केहीले विराटनगरस्थित मुनालपथमा रहेको एडयारमा मदिरा सेवन गरेका थिए ।

सो होटलमा रबिनले मुस्ताङ बियर खाए । स्रोतको अनुसार उनीहरूले १७ थान सानो बोतलको मुस्ताङ्ग बियर खाएपछि केही थान कार भित्र पनि राखेका थिए ।  

त्यसपछि कारमा दुई जना महिला र चालक रोबिनसहित ३ जना सवार भएर उनीहरू धरान–विराटनगर सडक हुँदै उत्तरतर्फ हानिए ।

तीव्र गतिमा हुइँकिएको कार अनियन्त्रित भई एयरपोर्ट लाईनमा २ जना पैदलयात्रीलाई ठक्कर दिएको प्रत्यक्षदर्शीको भनाई छ । दुर्घटना भएपछि रबिन सहित पाँच जना फरार छन् ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार कारमा २ युवतीहरु पनि सवार थिए । दुर्घटना लगत्तै पाँचै जना कारबाट निस्किएर फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

‘दुर्घटना भएपछि हामी भेला भएर घाइतेको उद्धारमा व्यस्त भयौं’, एक स्थानीयले भने, ‘त्यतिबेलै कार चालक युवासहित  कार घटनास्थलमै छाडेर फरार भएछन् ।’

घटनामा संलग्नलाई पक्राउ गरेर छोडिन्छ: एसपी खड्का 

मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जघन्य प्रकृतिको घटनामा संलग्न प्रतिवादीलाई पक्राउ गरि छोडने बताए ।

‘अहिले हामी अनुसन्धानको क्रममा छौं । कारमा सवारको बयानको सकिएकोले प्रतिवादीको पहिचान भइसकेको छ,’ एसपी खड्काले भने, ‘आइतबारसम्मा घटनाको नजिक पुगिसक्नेछौं ।’ प्रहरी घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न लागि परेको उनले बताए ।

‘प्रहरी कसैको दबाव र प्रभावमा पर्दैन । घटनामा संलग्नलाई पक्राउ गरेर कानुनी कारवाहीको दायरमा ल्याएर छोडछ,’ उनले भने, ‘एक, दुई दिन भित्रमा यो घटनमा संलग्न व्यक्ति पनि पक्राउ परिसक्नेछ ।’ प्रहरीले घटनाको सत्यतथ्य अनुसन्धान गरि सार्वजानिक गर्ने प्रतिवादीलाई कानुनी कारवाहीको दायरामा ल्याउने भएकोले अनुसन्धानमा शङ्का उपशङ्का नगर्न आग्रह गरेको छ ।