लोक साहित्य र संस्कृतिका स्रष्टा तुलसी दिवसलाई विराटनगरमा बिहीबार ‘बबरसिंह देवकुमारी थापा सेवा गुठी’ ले सम्मानित गरेको छ । 

स्रष्टा दिवसलाई ‘देवकुमारी थापा स्मृति पुरस्कार’ बाट सम्मानित गरिएको हो । पुरस्कारको राशि नगद ५१ हजार रुपैयाँ रहेको छ । स्रष्टा दिवसले करिब ६ दशकदेखि नेपाली लोक साहित्य तथा संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पु¥याएका छन् । गुठीले उक्त पुरस्कारबाटै कवि मेघराज मञ्जुललाई पनि बिहीबार नै पुरस्कृत गरेको हो । उनलाई गत वर्षको पुरस्कार प्रदान गर्ने निर्णय गरिएको गुठीका अध्यक्ष कविराज न्यौपानेले जानकारी दिए । 

गतवर्ष कोरोना महामारीका कारण बन्दाबन्दी भएपछि कार्यक्रम गर्न असम्भव भएको हो । जसका कारण पुरस्कार दिन सकिएको थिएन । त्यस्तै बहरसिंह थापा स्मृति पुरस्कार कलाकार विक्रमश्रि र साहित्यकार सरण राईलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । त्यस क्रममा बाल साहित्यमा विद्यावारिधि गरेका भारत दार्जिलिङका प्राध्यापक दीपेन घिसिङलाई पनि २५ हजार रुपैयाँ राशिको सम्मान प्रदान गरिएको हो । उनले देवकुमारी थापाको बाल साहित्यको विषयमा विद्यावारिधि गरेका हुन् । 

कार्यक्रममा सम्मानित सबैलाई नेपाल संस्कृत विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष पुरुषोत्तम भट्टराई, गुठीका अध्यक्ष कविराज न्यौपानेलगायतले सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रममा प्राज्ञ विवश पोखरेल, समालोचक दधिराज सुवेदी, साहित्यकार प्रमोद प्रधान, कवि भरत गुरागाईंलगायतले बोलेका थिए ।