भद्रपुर। सामूहिक बलात्कारको शिकार बनेकी सन्थाल समुदायकी एकल महिलाले उपचार पाएकी छैनन् । झापा कन्काई नगरपालिका–३ की ३१ वर्षीया महिलामाथि फागुन १० गते राति सोही नगरपालिकाका दुईजनाले सामूहिक बलात्कार गरेका थिए । 

बलात्कृत बनेकी पीडित महिलाको रक्तश्राव भइरहेको संरक्षक कृष्णकुमार श्रेष्ठले जानकारी दिए । घटनापछि स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपश्चात् घर ल्याएको उनको भनाइ छ । अस्पतालले घर लैजानू भनेपछि ल्याए पनि उनको रक्तश्राव नरोकिएको श्रीमतीलाई उद्धृत गर्दै उनले जानकारी दिए ।

उपचार खर्च दिन नमिल्ने प्रहरीले जनाएपछि घरमा नै आयुर्वेदिक उपचार गरिरहेपनि ठीक नभएको उनको भनाइ छ । पीडित महिलालाई न्याय दिनुको सट्टा खर्च गरेर थुनामा रहेकालाई निकाल्न चलखेल भइरहेको उनले सुनाए । केश सेलाइसक्यो, अब केही हुँदैन भन्दै केही समूहले दबाव दिइरहेको उनको भनाइ छ ।

घटनापछि प्रहरीलाई जानकारी गराएको र हाल के हुँदैछ भन्ने विषयमा जानकारीमा नआएको कन्काई–५ की वडासदस्य जानुका सिवाकोटीले बताइन् । महिलाको ओठ सुन्निएको, शरीरभरि निलडाम रहेको साथै शरीर पूरै हिलाम्य अवस्थामा फेला पारिएको उनले जानकारी दिइन् । अङ्कलहरू आमासँग जिस्कने र बारम्बार कोठामा आउने गरेको पीडितका छोराले बताएको उनले जनाइन् ।  

महिलामाथि भएको घटना आफूलाई जानकारीमा नआएको मानव अधिकारका लागि महिला एकल महिला झापा अध्यक्ष रेखा अधिकारीले बताइन् । संलग्नलाई कारबाही र पीडित महिलाले न्याय पाउनु पर्ने उनले जनाइन् । उपचारमा समस्याका विषयमा तत्काल उद्धार गरी मेची अञ्चल अस्पताल भद्रपुरमा ल्याइने उनले बताइन् । 

 सोही नगरपालिका–४ का २८ वर्षीय प्रदीप चौधरी र ५८ वर्षीय कान्छा भनिने शर्मानन्द भुजेलले बलात्कार गरेर सख्त घाइते बनाएको आरोपमा प्रहरीले पक्राउ गरी उनीहरूमाथि जबरजस्ती करणी र कुटपिटमा मुद्दा चलाएको जिल्लाका डिएसपी राकेश थापाले जानकारी दिए । 

सुरुङ्गा बजारस्थित टप्पुमा डेरामा राति पुगी ती महिलासँग चिनजानका पुरुष भुजेलले ढोका खोल्न लगाई दुवैजनाले मुखमा रक्सीको बोतल कोचेर पालैपालो बलात्कार गरेको पीडित महिलालाई उद्धृत गर्दै प्रहरीले जनाएको थियो । बलात्कार गरेर बलात्कारीहरू फरार भएपछि  पीडित महिला स्थानीय काशीनाथ श्रेष्ठको घरमा शरण लिन पुगेकी थिइन् । केही वर्षअघि मात्रै आफ्नो श्रीमान् गुमाएकी उनीसँग एउटा ७ वर्षीय छोरा मात्रै छन् । ती छोरासमेत अर्कै घरमा बसेर पठन–पाठन गर्दै आइरहेका छन् ।