विराटनगर । मोरङ अदालतदेखि फरार भएका थुनुवा प्रकरणमा डियुटिमा खटिएका तीन जना प्रहरी निलम्बनमा परेका छन् । मोरङ प्रहरीका प्रहरी हवल्दारसहित तीन जनालाई निलम्बन गरेको हो । 

निलम्बन हुने प्रहरी हवल्दार पुण्यप्रसाद पोखरेल, प्रहरी जवानहरु डम्बरबहादुर लिम्बु र अजय कुमार राय रहेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । डियुटिको समयमा लापरबाही गरेको देखिएपछि उनीहरूलाई विभाग्य कारबाही अनुसार तत्काललाई निलम्बन गरि छानविन सुरु गरिएको उनले बताए ।

मोरङ अदालतमा म्याद थप गरेपछि लागूऔषध मुद्दाका दुई जना थुनुवा फरार भएपछि मोरङ प्रहरीका तत्कालिन डिएसपी लोकर्दशन थापाको नेतृत्वमा छानविन टोली गठन गरेको थियो । छानविन टोलीले मोरङ प्रहरीलाई दिएको प्रतिवेदन अनुसार डियुटिमा खटिएका प्रहरी खाजा खाँदा थुनुवाहरु फरार भएको देखिएको छ ।

‘आर्थिक लाभ लिएर भगाउने नियत नदेखि पनि डियुटिमा लापरबाही भएको पाइपछि डियुटिमा खटिएका तीन जना प्रहरीलाई निलम्बन गरि प्रराम्भिक चरणको छानविन सकिएको छ,’ एसपी खड्काले भने, ‘छानविन टोलीले प्रतिवेदन बुझाउन मात्र बाँकी रहेको छ ।’

मोरङ अदालतमा पाँच दिनको म्याद थप भएपछि खाजा खाने बहना बनाएर प्रहरीलाई झुक्याएर अदालत परिसर भित्रदेखि फरार भएका दुई मध्ये एक जना पक्राउ परेका छन् भने अर्का एक जना फरार छन् । 

लागूऔषध मुद्दामा मोरङ अदालतमा पाँच दिनको म्याद थप भएपछि खाजा खाने बहना बनाएर प्रहरीलाई झुक्याएर मोरङको कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मुराज भनिने मनराज शेख र झापाको बिर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी फरार भएका थिए ।

फरार भएका मध्ये शेखलाई मोरङ प्रहरीले ११ फागुनमा भारतदेखि पक्राउ गरेको थियो । फरार भएका अर्का थुनुवा चौधरी फरार छन् । उनी पनि भारतर्फ फरार भएको हुनसक्ने प्रहरी स्रोतले जानकारी दिएको छ । 

शेखलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले ९ फागुनमा पक्राउ गरेर कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाएको थियो । शेख ब्राउन सुगरको कारोबाही हुन् । उनले भारतदेखि अवैध रुपमा लागूऔषध ल्याएर पूर्वको विभिन्न स्थानमा विक्री बितरण गर्दछन् ।

उनी यसअघि पनि मोरङ प्रहरीले लागूऔषधसहित पक्राउ गरेको अभियुक्त हुन् । दुई महिना अगाडी उनलाई लागूऔषधसहित प्रहरीले पक्राउ परेका थिए । उनी धरौटिमा रिहा भएका थिए ।