विजयपुर /नेवार एकता समाज धरानले अन्तरजातीय विवाह गर्ने जोडीलाई स्वीकृति दिएको छ । 

शुक्रबार समाजले वार्षिकोत्सव तथा अन्तरजातीय विवाहका जोेडीलाई परिचयात्मक कार्यक्रम गर्दै स्वीकृति दिएको हो । कानून तः अन्तरजातीय विवाहलाई मान्यता दिए पनि समाजले व्यावहारिक रूपमा हालसम्म स्वीकार गरेको अवस्था छैन ।

समाजले कार्यक्रममा अन्तरजातीय विवाह गर्ने ४६ जोडीलाई परिचय गराउँदै स्वीकृति दिइएको समाजका अध्यक्ष राजेशमान श्रेष्ठले जानकारी दिए । ४६ जोडीमध्ये २ जोडी दलित र गैरदलितबीच रहेको बताए । 

कार्यक्रममा पूर्वअध्यक्ष विशाल श्रेष्ठले विवाह दुईवटा सांस्कृतिक समूहबीचको मिलन भएको बताए । उनले विवाह जुनसुकै जनतातीय समुहविच भएपनि खुसि हुनुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि धरान काठमाडौं सरोकार समाजका अध्यक्ष प्रभुप्रसाद श्रेष्ठले नेवार एकता समाजले गरेका सामाजिक कार्यहरूको प्रशंसा गरे । उनले धरान–काठमाडौं सरोकार समाजले पुरानो अस्पताल निर्माण गर्ने योजना रहेको बताए ।

  त्यस्तै नेवार एकता समाजले गत पुसमा सम्पन्न रक्तदान कार्यक्रममा सहयोग गर्ने १६ वटा संस्थालाई प्रशंसा–पत्र प्रदान गरेको थियो ।