पथरी / मोरङको सुनवर्षी नगरपालिका–८ का अध्यक्ष नुरुल मियाँले दोहोरो नागरिकताको फाइदा उठाउँदै भारतीय बैङ्कमा रकम जम्मा गरेर पदीय दुरुपयोग गरेको वडासदस्यहरूले नै दाबी गरेका छन् । 

जनता आवासलगायतको कार्यक्रममा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीस्थित कार्यालयमा उजुरी परेको छ भने दोहोरो नागरिकता रहेको प्रमाणसहित छुट्टै उजुरी पनि दिइएको छ ।

उनले नेपालमा कारोबार गर्ने र रकम भारतमा जम्मा गरेर पदीय दुरुपयोग गरिरहेको वडासदस्यहरूले बताए । वडाध्यक्ष नुरुल मियाँविरुद्ध वडासदस्यहरूले दोहोरो नागरिकता राखेको र वडामा विभिन्न शीर्षकमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दर्ता गराएका छन् ।

वडाध्यक्ष मियाँले नेपाल र भारतका दुवै देशको नागरिकता राखेर दुवैदेशमा विभिन्न कारोबारहरू गर्दै आएको वडा सदस्यहरूको नै दाबी छ ।

नुरुलसँग नेपाली नागरिकता सरह प्रदान गरिने ७०५४९२०३५५७० क भीआइडी ९१२३८१११८८५३४५० नम्बरको आधार कार्ड रहेको र सोही आधार कार्डको आधारमा भारतीय बैङ््कहरूमा खाता खोलेर एटिएम, भारतबाटै सिमकार्ड निकालेर प्रयोग गर्दै आएको उजुरी पत्रमा उल्लेख छ । 

स्थानीय युवा इस्तियाज आलम र वडा सदस्यहरूकै सक्रियतामा माघ २६ गते जिल्ला प्रशासन कार्यालय मोरङ विराटनगरमा नुरुल मियाँको दोहोरो नागरिकता बारे छानबिन गरी कारबाहीको माग गर्दै उजुरी परेको छ । नुरुलले भारतीय नागरिकताबाट त्यहाँको सुविधा प्रयोग गर्दै नेपाली नागरिक हुँ भन्दै झुटो विवरणको आधारमा नेपाली नागरिकता लिएको भन्दै नेपाली नागरिकता ऐन २०६३ दफा १० अनुसार नेपाली नागरिकता बदर गरी ऐनको दफा २१ बमोजिम कारबाही गर्न माग गरिएको छ । 

नुरुलले भारतीय नागरिकता बोकेर नेपालको जनप्रतिनिधि (वडाध्यक्ष) भएर कसैको कुरा नसुन्ने, जथाभाबी अख्तियार दुरुपयोग गर्नुको साथै भ्रष्टाचार गरेको रकम भारतीय बैङ्कमा खोलिएको खाताहरूमा राख्ने गरेकोले तत्काल कारबाही हुनुपर्ने वडासदस्यहरूको माग रहेको छ ।

कोही कसैलाई नटेरी वडाकै बेइज्जत हुने गरी काम भइरहेकोले अत्याचार भएपछि अख्तियार र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिँदा पनि सम्बन्धित कार्यालयहरूले तत्काल एक्सन नगरेकोमा समेत वडासदस्यहरूको गुनासो छ ।

नरुलले भारतीय आधार कार्डको आधारमा त्यहाँको बैङ्कमा खोलेको खातानम्बर, एटिएम कार्डको नम्बर, भारतीय मोबाइल नम्बर र नेपाली नागरिकताको प्रतिलिपिसमेत उपलब्ध भएको छ । 

वडाध्यक्ष मियाँ भारतीय नागरिक भएको आरोप लगाउँदै वडा नं. ८ कै वडासदस्यहरू कन्हा मियाँ, कन्हैयालाल गन्गाईं, दुखिया ऋषिदेव र शीलादेवी गन्गाईंले जिल्ला प्रशासन कार्यालय मोरङमा गत माघ १० गते उजुरी दिएका थिए ।

त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय धनकुटामा गत माघ २६ गते दोहोरो नागरिकता राखी दुवै देशमा विभिन्न कारोबार गर्दै आउको भनी उजुरी दिएका थिए ।

त्यसैगरी पुनः अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय धनकुटामा यही फागुन ७ गते वडाध्यक्षले विभिन्न शीर्षकमा भ्रष्टाचार गरेको भन्दै उजुरी दिएका थिए । प्रधानमन्त्री जनता आवास कार्यक्रमअनुसार सुनवर्षी–८ मा ५६ वटा घर निर्माण हुनुपर्ने थियो ।

तर, त्यहाँ हालसम्म १४ वटा मात्र घर बनेको त्यो पनि नक्सा र स्टिमेटअनुसारको नबनेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय धनकुटा र सम्पर्क कार्यालय इटहरीमा उजुरी परेको हो ।

जनता आवास कार्यक्रमअनुसारको घर निर्माण गर्न वडाध्यक्ष नुरुल मियाँकै संयोजकत्वमा उपभोक्ता समिति गठन भएको अख्तियारलाई बुझाएको उजुरी पत्रमा उल्लेख छ । 

निर्माण भएका १४ वटा घर पनि नक्साअनुसारका नबनेको, स्टिमेटमा घरको जग २२ फिटको भए पनि २० फिटमा मात्र बनाइएको, पीसीसी, डीपीसी योजनाअनुसार नभएको, इँटा, सिमेण्ट कमसल प्रयोग गरेको, रड स्टिमेटभन्दा सानो प्रयोग भएको भन्दै तत्काल छानबिन गरी कारबाही गर्न माग गरिएको छ ।

स्टिमेट र निर्माण भएको घर हेर्दा प्रत्येक घरमा एक लाख बढी भ्रष्टाचार भएको पत्रमा दाबी गरिएको छ । वडामा हुने सम्पूर्ण योजना वडा सदस्यहरूसँग समन्वय नै नगरी आफूखुसी गर्ने र नगरपालिकाबाट अनुगमनमा आउँदा आफूहरूलाई समस्या पर्ने गरेको वडासदस्य कन्हा मियाँले बताए ।

कन्हैयालाल गन्गाईं, शीलादेवी गन्गाईंले पनि वडाध्यक्ष नुरुल मियाँले आफूखुसी गर्दै आएकोले वडाको जनप्रतिनिधि हुँ भन्न नै लाज लाग्ने अवस्था आएको बताए ।

विकास निर्माणका कार्यमा अध्यक्ष नुरुलले आफूखुसी गर्नुका साथै आफू अनुकूलको उपभोक्ता समिति बनाएर आफूखुसी काम गर्ने गरेको वडासदस्य कन्हैयालाल गन्गाईंले बताए ।