भण्टाबारी । कोशी गाउँपालीका क्षेत्रमा रहेका माछा व्यापारीहरूलाई एकीकृत गर्ने उद्देश्यले बहुसरोकार गोष्ठि आयोजना गरिएको छ ।

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना ‘समृद्धि’ को आर्थिक तथा प्राविधिक सहयोगमा  कोशी गाउँपालिकाले कोशी क्षेत्रमा रहेका माछा व्यापारीलाई एकीकृत गर्ने उद्देश्यले माछा आपूर्ति शृङ्खलासम्बद्ध क्लस्टर स्तरीय बहुसरोकार गोष्ठी आयोजना गरिएको हो ।

कोशी गाउँपालिका–३ स्थित कोशी टप्पुमा आइतबार बिहान आयोजना गरिएको उक्त गोष्ठीमा कोशी गाउँपालिका र बराहक्षेत्र नगरपालिका क्षेत्रका गरी ६० जना बढी माछा व्यापारी तथा भुरा उत्पादकहरूको सहभागिता थियो ।

कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीको अध्यक्षतामा भएको सो गोष्ठीमा समृद्धि आयोजनाको परिचय र उद्देश्यका बारेमा कोशी सगरमाथा करिडोर धरानका प्रमुख लोकेन्द्र रावलले प्रकाश पारेका थिए ।

आफूहरूको गरी खाने माध्यम माछा व्यापार नै भएको बताउँदै माछा जोन कोशीका सदस्य गुलाबी मुखियाले व्यापारी तथा भुरा उत्पादक किसानहरुको विकास र विस्तारका लागि सहयोग आवश्यक रहेको धारणा राखेका थिए ।

व्यक्तिगत रूपमा भन्दा संस्थागत हिसाबले एक ढिक्का भएको अवस्थामा गाउँपालिका वा अन्य क्षेत्रबाट सहयोग पाउन सहज हुने भएकाले माछा व्यापारी र किसान एकीकृत हुन आवश्यक रहेको अर्का माछा व्यापारी लतिफ मियाले बताए ।

माछा तथा भुरा उत्पादक किसानलाई एकीकृत गर्दै उनीहरूलाई आवश्यक सहयोग गर्न गोष्ठी उपलब्धिमूलक भएको गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले बताए । सयौंको सङ्ख्यामा कोशी क्षेत्रका सर्वसाधारण माछा मारेर जीविकोपार्जन गर्दै आएको बताउँदै उनले त्यस्ता व्यक्तिहरूको पहिचान गर्दै सहयोग गर्न टेवा पुग्ने उद्देश्यले कार्यक्रम गरिएको बताए । 

किसानको जीवनस्तर उकास्न गाउँपालिकाले कृषि क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको दाबी गर्दै अध्यक्ष अन्सारीले माछा व्यापारी र किसानहरुका लागि भावी दिनमा आवश्यकताअनुसार कार्यक्रम ल्याइने प्रतिबद्धता गरे ।

गोष्ठी कार्यक्रममा कोशी गाउँपालिकाकी उपाध्यक्ष अनिता यादव, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरी, सुनिल साह, गोसाइ यादव, धर्मेन्द्र विश्वासलगायत माछा व्यापारी, किसान, सरोकारवालासहितको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रम कोशी गाउँपालिकाका फोकल पर्सन राजकिशोर मेहताले सञ्चालन गरेका थिए ।