धरान  । धरानका होटलका खाद्य स्वच्छता स्तर मापन गर्नेक्रममा अधिकांश होटलका भान्साघर सुधार गर्नुपर्ने देखिएको छ । 

खाद्य स्वच्छता स्तरमापन गर्ने क्रममा आइतबार धरानको गजुर प्यालेसबाहेकका अनुगमन गरिएका अधिकांश होटलको भान्साघर सुधार गर्नुपर्ने देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाका प्रमुख काशिनाथ घिमिरेले जानकारी दिए ।

आइतबार धरानको कञ्चनजङ्गा होटल, धरान किचन प्रालि, सन्ध्या इन, लेवलअप, न्यू धरान गोर्खा किचन, बराह फेमिली किचन र स्टारपूर्वी होटलमा खाद्य स्वच्छताबारे अनुगमन गरिएको थियो । 

नेपाल सरकार कृषि विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुई वर्षयतादेखि होटलको खाद्य स्वच्छता स्तर मापन गर्न थालिएको हो । हरेक वर्ष होटलको खाद्य स्वच्छता मापन गर्दा विभागको ५० वटा सूचकलाई आधार मानेर मापन गरिँदै आएको छ ।

धरानको होटल गजुर प्यालेसको भान्साघर, सरसफाइ र व्यवस्थापनका आधारमा अतिउत्तमको स्टिकर पाएको छ । धरानमा ८ वटा होटलमा गरिएको खाद्य स्वच्छता स्तर मापनको क्रममा होटल गजुर प्यालेसले मात्रै अतिउत्तम स्टिकर प्राप्त गरेको डिभिजन प्रमुख घिमिरेले बताए । स्टिकर धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले हस्तान्तरण गर्दै टाँस गरिन् ।  

तर, गजुर प्यालेसले दुई वर्ष कर नतिरेको पाइएको धरान उपमहानगरपालिका बजार अनुगमन अधिकृत वेदप्रकाश सापकोटाले जानकारी दिए । ‘अरू सबै ठिकठाक पाइयो, नगरमा कर नवीकरण नगरेको पाइयो’ उनले भने । उनले चाँडै नै नवीकरण गर्नका लागि पनि निर्देशन गरिएको बताए । 

उनका अनुसार धरान किचन प्रालि, लेवलअप र वराह फेमिली किचनले उत्तमको स्टिकर प्राप्त गरेको छ । साथै कञ्चनजङ्घा, सन्ध्या इन, न्यू धरान गोर्खा किचन र स्टारपूर्वी होटल सन्तोषजनकको स्टिकर प्राप्त गरेको हो ।

प्रमुख घिमिरेले उत्तम र सन्तोषजनक स्टिकर प्राप्त गरेका होटलमा भान्साघरको सरसफाइ र व्यवस्थापनमा कमजोरी देखिएको बताए । ‘सरसफाइ र व्यवस्थापनमा कमजोरी देखियो, डकुमेन्टेसनमा चाहिँ ठिकठाक पाइयो’ उनले भने ।

डिभिजन कार्यालयले केही दिनअघि इटहरी क्षेत्रका १९ वटा होटलमा खाद्य स्वच्छता स्तर मापन गर्नेक्रममा एउटा होटलले मात्रै अतिउत्तम स्टिकर प्राप्त गरेको थियो भने धेरै होटलले सन्तोषजनक स्टिकर प्राप्त गरेका थिए ।