भण्टाबारी । सङ्घीयताको आगमनसँगै स्थानीय चुनावको चहलपहल हुँदा भोक्राहा नरसिंह गाउँपालिका–८ का खुर्शिद मन्सुरी जति उत्साहित थिए अहिले त्यति नै निराश छन् । 

करिब दुई दशकपछि चुनिएका जनप्रतिनिधिसँग उनले ठूला अपेक्षा राखेका थिएनन् । हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने सडक मर्मतको माग चुनावकै बेला उनी र उनका छिमेकीले गरेका थिए । तर जनप्रतिनिधि आएको चौथो वर्ष चलिरहँदा पनि उनीहरूको माग पूरा भएको छैन ।

सडक अहिले पनि जस्ताको त्यस्तै छ । ‘जनप्रतिनिधिले गाउँबासीको आवश्यकता र हितलाई हेरिँदैन, आफ्ना पार्टीका नेता कार्यकर्ता जता छन् त्यतै बजेट  विनियोजित गरिन्छ’–मन्सुरीले भने । वडाध्यक्ष, गाउँपालिकाका अध्यक्षलगायतका जनप्रतिनिधि साझा बन्न सकेका छैनन् केही सीमित मान्छेका पछि लागेका छन् ।

भोक्राहा नरसिंह गाउँपालिका–६ का स्थानीय असफाक मियाँले गाउँपालिका क्षेत्रमा भएको विकासमा एकरूपता नभएको बताउँछन् । ‘अध्यक्ष, उपाध्यक्षका वडा वडामा मर्मत गरे पुग्ने बाटो भत्काएर पुनः कालोपत्रे गरिएका छन्’ उनले भने, ‘अन्य वडामा भत्केका सडक पनि मर्मत गरिएको पाइँदैन ।’

पछाडि परेका वडालाई बढी प्राथमिकता दिइनुपर्नेमा जनप्रतिनिधिले आफ्नो पार्टी र नेताकार्यकर्ताको पहुँच रहेका वडालाई प्राथमिकता दिँदै आएको असफाकको गुनासो छ । ‘जनप्रतिनिधि आएपछि पूर्वाधार निर्माण कार्यमा हुँदै आएको ढिलासुस्ती र मनोमानी रोकिने अपेक्षा गरिएको थियो’

उनले भने, ‘तर आजभोलि त कर्मचारीले मात्रै होइनन् जनप्रतिनिधिले समेत कमिसन नलिई काम गर्दैनन् ।’ चुनावका बेला आधारभूत विकाससँगै कृषि, खानेपानी, बाटो, सिंचाइ विकासलाई प्राथमिकता दिने प्रतिबद्धता गरेका जनप्रतिनिधि आफ्ना नेता कार्यकर्ता अनुकूल बजेट बाँड्न, कमिसन लिएर कार्यक्रम बाँड्न तथा सस्तो लोकप्रियताका लागि विवादास्पद निर्णय गर्दै आएको भन्ने जनगुनासो व्याप्त सुनिन्छन् ।

राहतको चामल जनप्रतिनिधिले नै लुकाएपछि...

भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रका जनप्रतिनिधिले ४ सय ५० बोरा राहतको चामल लुकाएर राखेको गुनासो आएपछि सुनसरी प्रशासनले तत्कालै चासो लिँदै चामल राखिएको गोदाम सिल गर्यो ।

कोरोना महामारीको समयमा जनतालाई वितरण गर्न भन्दै ल्याइएको चामल वितरण नगरी जनप्रतिनिधिले लुकाएर राखेको चाल पाएपछि सुनसरी प्रशासनले चामल राखिएको गोदाम सिल गर्दै छानबिन गरिरहेको छ । 

सदरमुकाम इनरुवास्थित महेन्द्रचोकका स्थानीय युवराज दाहालको घरमा जनप्रतिनिधिले घर भाडामा लिई राहतको चामल लुकाइराखेको अवस्थामा पाइएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार भोक्राहा नरसिंह गाउँपालिका–४ का वडाध्यक्ष हारुन अन्सारी र ८ नम्बर वडाका वडाध्यक्ष हात्तिम अन्सारीले दाहालको घर भाडामा लिएर चामल भण्डारण गरेको आरोप लाग्दै आएको छ ।

पाएको अवसर सदुपयोग गर्न दबाव दिँदै आएको बताउने भोक्राहा नरसिंह गाउँपालिका–८ का स्थानीय रियाज मन्सुरीले जनप्रतिनिधि कहिल्यै आफूहरूको गुनासो सुनुवाइ नगरेको बताए ।

‘यत्रो महामारीमा गरिब, विपन्न तथा निमुखा जनताका लागि आएको राहतसमेत वितरण नगरी लुकाएर राख्ने जनप्रतिनिधि अन्य बेला के गर्छन् होला ?’ उनले प्रश्न गरे । उनले गाउँ गाउँमा सिंहदरबार होइन गाउँ गाउँमा भ्रष्टाचार आएको मन्सुरीको भनाइ छ । 

जनप्रतिनिधि सबैको साझा नबनेसम्म विकासले गति नलिने सुनसरी बहुमुखी क्याम्पस इनरुवाका प्राध्यापक गोविन्द चिलवालले जनप्रतिनिधि जनताका हुनुपर्नेमा सीमित व्यक्ति वा कुनै पक्षका मात्रै हुनु चिन्ताको विषय भएको बताए ।

‘निर्वाचन अगाडिसम्म कुनै पार्टीको झण्डा बोक्नु गलत होइन तर निर्वाचित भएपछि त्यसो गर्नु हुँदैन । जनप्रतिनिधि सबैको साझा भएमा विकास र समृद्धि ल्याउन सकिन्छ’ उनले भने । 

८ नम्बर वडाका वडाध्यक्ष हात्तिम अन्सारीलेले आफूलाई बदनाम गर्नका लागि यो सबै कार्य गरिएको बताए । ‘मलाई नै टारगेट गरेर फसाउन खोजिएको थियो । त्यसमा मेरो कुनै संलग्नता छैन’ उनले फोन सम्पर्कमा भने, ‘सिल भएको भोलिपल्ट नै वडाध्यक्ष हारुन अन्सारी जिल्ला प्रशासनमा उपस्थित भएर बिलसहित पेश गरिसक्नु भएको छ ।

त्यसमा कसैको संलग्नता पनि होइन ।’ उनले राजनीतिक दुस्मनीका कारणले आफूलाई मुछ्नका लागि प्रपञ्च रचिएको बताए । उनका अनुसार जिल्ला प्रशासनले गाउँपालिकालाई पनि चामलको विषयमा गरेको पत्राचारमा गाउँपालिकाका अध्यक्ष महेन्द्र यादवले गाउँपालिकाले खरिद गरेको चामल नभएको भन्दै प्रतिउत्तर पठाइसकेको छ ।

यसबारे बुझ्नका लागि अध्यक्ष यादवलाई पटक पटक सम्पर्क गर्दा फोन उठेन ।