पथरी। मोरङको उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शङ्कास्पद मृत्यु प्रकरणको मिसिलमा अर्कै व्यक्तिको तस्बिर संलग्न गराइएपछि घटनाले नयाँ रूप धारण गरेको छ । 

मृतकका परिवारले आरोपीलाई उन्मुक्ति दिनका लागि प्रहरीले प्रमाण नष्ट गर्न खोजेको आरोप लगाएका छन् । मिसिलमा अर्कै व्यक्तिको तस्बिर टाँसिएको जानकारी पाएलगत्तै आफन्त तथा स्थानीय छिमेकीले उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयअगाडि आइतबार र सोमबार प्रदर्शन गरे ।

शङ्कास्पद मृत्यु भएका प्रवीण बास्तोलाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय उर्लावारीले मिसिल फाइलमा २ महिनापछि असम्बन्धित व्यक्तिको तस्बिर रहेको आफन्तले फेला पारेपछि प्रहरीविरुद्ध प्रदर्शन गरेका हुन् । इलाका प्रहरी कार्यालय उर्लाबारीले इन्स्पेक्टर उद्धव पोख्रेलको नेतृत्वमा अनुसन्धान गर्दै आएको २ महिनापछि आफन्तले मिसिल फाइल हेर्न माग्दा अर्कै व्यक्तिको फोटो रहेको पाइएपछि परिवारसहित स्थानीय आन्दोलित भएका हुन् । 

सोमबार उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले पनि पीडितको विपक्षमा अभिव्यक्ति दिएपछि स्थानीयले आलोचना गरेका छन् । नगर प्रमुख फागोले पीडितको विपक्षमा उत्तेजक अभिव्यक्ति दिएपछि स्थानीय आक्रोसित बनेका थिए । प्रवीण गत पुस ५ गते मृत फेला परेका थिए ।

मृत्यु हुँदाको समयमा उनीसँगै रहेका संदिग्ध व्यक्तिहरूलाई प्रहरीले अनुसन्धान नगरी छाडेको आरोप लाग्दै आएको छ । यता प्रहरीले पनि फोटो भूलवश परिवर्तन भएको स्वीकार गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकदर्शन थापाले गल्ती स्वीकार गरे । 

यस कारण पीडित आन्दोलित

घटना नं. १    

व्यक्तिले उन्मुक्ति पाएको भन्दै आइतबार पीडित परिवार र स्थानीयवासीले जिज्ञासा राख्दा प्रहरीले लापरबाही गरेको पाइएको थियो । मिसिलमा समावेश गरिएको मृतकको तस्बिरमा चाँदीको सिक्री लगाएको पाइएपछि स्थानीयले केहीबेर इलाका प्रहरी कार्यालय घेराउ गर्नुका साथै प्रहरीविरुद्ध नाराबाजीसमेत गरेका थिए । मृतक फेला पर्दा उनको गलामा सिक्री थिएन । यद्यपि प्रहरीले अनुहार नै नचिनिने गलामा सिक्री लगाएको व्यक्तिको तस्बिर घटना मुचुल्कामा संलग्न गरेको पाएपछि स्थानीय आक्रोसित बनेका हुन् ।

घटना नं. २ 

परिवारका अनुसार सुरुमा प्रहरीले दोषी पत्ता लगाउने आश्वासन दियो । तर, अहिले घटनाका आरोपित सबैलाई छोडिदिएको छ । मृतकका बुबा प्रेमप्रसादले यो घटना कर्तव्य ज्यान हो भनेर दाबी गर्ने आधार प्रस्तुत गर्दै भने, ‘पुस ४ गते घरबाट निस्किएको छोरा ५ गते ११ बजेतिर अज्ञात नम्बरबाट फोन गरेर म¥यो भनेर खबर आयो, यसबाट हामीले के बुझ्ने ?’ उनले प्रहरीले पनि आफूहरूलाई पटकैपिच्छे फरक–फरक जानकारी तथा सूचना दिँदै आएकाले पनि प्रहरीमाथि शङ्का रहेको बताए । छोरा म¥यो भन्ने थाहा पाए पनि परिवारले उनको शव चाहिँ उर्लाबारीको गोदावरी अस्पतालमा भेटेका थिए ।

‘त्यहाँसम्म प्रवीणलाई कसले ल्यायो भन्नेसम्म हामीलाई थाहा छैन’ –प्रेमप्रसादले भने । घटनामा जोडिएका पीडक भनिएकाहरू छाडिएपछि मृतक परिवारले सामाजिक सञ्जालमा प्रहरीप्रति आक्रोस पोखेको थियो । यद्यपि परिवारले अस्पताल स्रोतलाई उद्धृत गर्दै भन्यो, ‘प्रवीणको मृत्यु भएको ३४ घण्टापछि मात्र एम्बुलेन्समा राखेर अस्पताल पु¥याएको हो ।’ पीडित परिवारले किटानी जाहेरी दिन पटक–पटक प्रहरी कार्यालय जाँदा इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर उद्धव पोख्रेलले उल्टै थर्काएको मृतक प्रवीणकी बहिनी दुर्गा बास्तोलाले बताइन् । ‘प्रमाण नष्ट गर्ने र अपराधीको संरक्षणमा प्रहरीकोे संलग्नता देखिन्छ’–दुर्गाले भनिन् ।

घटना नं. ३ 

घटनाअनुसार प्रवीण पुस ४ गते बेलुका घरनजिकैको मरिमराउमा पुगेका थिए । त्यहाँबाट १ किलोमिटर पूर्वको सौरभी होटलमा प्रवीण पुग्छन् र त्यहाँ अरू व्यक्तिहरूसँग रक्सी खान्छन् । रक्सी प्रवीणले मात्र खाएको दाबी प्रहरीको छ । यद्यपि जिउ थाम्न नसक्ने गरी रक्सी पिएको व्यक्तिलाई लिएर रातको १० बजे पप्पु भनिने राजेश रणपहेली र प्रवीण बदाम जुस लिन स्कुटर चढेर अलि परसम्म पुगेको बताइन्छ । तीनवटा बदाम जुस लिएर प्रवीण कहाँ पुगे ।

न त प्रहरीको अनुसन्धान बोल्छ, न उनको हत्यामा संलग्नको आरोप लागेकाहरूले नै बोलेका छन् । त्यति मात्र होइन, मद्रासी फिल्मीशैलीमा मार्ने योजनाका लागि प्रवीणलाई भोलिपल्ट जिस्क्याउने भन्दै घुरेको भिडियो खिच्छन् । मध्यरातको १२ बजे बनाएको भिडियो अहिलेसम्म प्रवीणका बाबुआमाले हेर्न पाएका छैनन् । त्यति मात्र होइन । १ बजेर १० मिनेट जाँदा प्रवीणको मोबाइलबाट अज्ञात नम्बरमा २० रुपैयाँ ट्रान्स्फर गरिन्छ ।

होटलमा रिकेश सिवा भनिने मेहरमान दर्जी, दीपेश पौडेल, राजेश रणपहेली र प्रवीण मात्र रहेको भनिए पनि त्यहाँ अरू केही व्यक्ति पनि भएको बास्तोला परिवारको दाबी छ । घटनामा संलग्नहरू कोही लागूऔषध कारोबारमा पटक–पटक प्रहरी हिरासतमा परेका र कोही मान्छे मारेर फरार भएको पृष्ठभूमिका मानिस भएकोले अत्यधिक लागूऔषध खुवाएर मारेको हुनसक्ने पीडित परिवारको आरोप छ ।

प्रहरीले घटनाप्रति बेवास्ता गर्नु र न्यायालयले समेत कर्तव्य ज्यानको कुनै सम्भावना छैन भन्दै मुद्दा मामिला नगर्न सुझाएपछि बास्तोला परिवार झनै आक्रोसित भएका छन् । यता इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोख्रेलले भने कर्तव्य ज्यानको कुनै प्रमाण फेला नपरेकोले सरकारी वकिलको कार्यालयको ठहरपछि पक्राउ परेका सबैलाई छोडिएको बताए । उनले मृतकको शरीरमा कुनै चोट, निलडाम पनि नदेखिएको बताए । उनले अनुसन्धान नसकिएको बताउँदै प्रमाण फेला परे उनीहरू पक्राउ पर्न सक्ने बताएका छन् ।

डिएसपीको नेतृत्वमा छानबिन टोली 

मृतकका आफन्त र स्थानीयले लापरबाही गर्ने प्रहरीलाई कारबाही र अदालतमा मुद्दा दर्ता हुनुपर्ने माग राख्दै आन्दोलित भएपछि जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईको नेतृत्वमा तीन सदस्यीय छानबिन टोली गठन भएको छ । घटनाको सत्य–तथ्य बाहिर ल्याउन डिएसपी राईको नेतृत्वमा मोरङ प्रहरीको मुद्दा फाँटका असइ दिवस कुँवर र हवल्दार रमेश थापा सम्मिलित छानबिन टिम गठन भएको हो ।

‘गठित छानबिन टिमले अनुसन्धान प्रतिवेदन झिकाएर अहिले छानबिन सुरु गरेको छ’ मोरङ प्रहरीका डिएसपी लोकदर्शन थापाले भने, ‘अनुसन्धान कार्यमा घटनाका तथ्यहरूमा तात्विक फरक पर्ने गरी प्रमाण सङ्कलन गरेको र कसुरदारलाई उन्मुक्ति दिने गरी गैरव्यावसायिक अनुसन्धान कार्य गरेको पाइएमा सम्बन्धित अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीहरूलाई कानूनबमोजिम कारबाही गर्छौं ।’

डिएसपीको नेतृत्वमा छानबिन टोली

मृतकका आफन्त र स्थानियले लापरवाही गर्ने प्रहरीलाई कारवाही र अदालतमा मुद्दा दर्ता हुनुपर्ने माग राख्दै आन्दोलित भएपछि जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईको नेतृत्वमा तीन सदस्य छानविन टोली गठन भएको छ । घटनाको सत्यतथ्य बाहिर ल्याउन डिएसपी राईको नेतृत्वमा मोरङ प्रहरीको मुद्दा फाटका असाइ दिवस कुँवर र हवल्दार रमेश थापाको छानविन टिम गठन भएको हो ।

‘गठन भएको छानविन टिमले अनुसन्धान प्रतिबेदन झिकाएर अहिले छानविन सुरू गरेको छ,’ मोरङ प्रहरीका डिएसपी लोकर्दशन थापाले भने, ‘घटना सम्बन्धमा अनुसन्धान कार्यमा घटनाका तथ्यहरुमा तात्विक फरक पर्ने गरी प्रमाण संकलन गरेको र कसुरदारलाई उन्मुक्ति दिने गरी गैरव्यवसायिक अनुसन्धान कार्य गरेको पाइएमा सम्बन्धित अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीहरुलाई कानुन बमोजिम कारबाही गर्छौं ।’