धरान । मोरङ उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीन बास्तोला मृत्यु प्रकरणले नयाँ मोड लिएको छ । 

त्यसघटनामा प्रहरीले एक युवालाई पक्राउ गरेको थियो । पक्राउ पछि २५ दिन हिरासतमा राखेर अनुसन्धानपश्चात् सरकारी वकिलको कार्यालय मोरङको निर्देशनमा हाजिर जमानीमा छाडिएको थियो । बास्तोलाको मृत्यु प्रकरणमा जोडिएका युवालाई छाड्न उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयले भूमिका खेलेको मृतकका परिवारको आरोप छ । 

मृतकका आफन्त तथा छिमेकीहरू उर्लाबारीस्थित इप्रकामा घेराउ तथा धर्नामा छन् । घटना पुस ५ गतेको हो । प्रवीनको मृत्युपछि मृतकका बुबा प्रेमप्रसाद बास्तोलाले पुस २२ गते कर्तव्य ज्यानसम्बन्धी मुद्दामा उर्लाबारी–६ का राजेश रणपहेलीलाई प्रतिवादी बनाई किटानी जाहेरी दिएका थिए । तर, प्रहरीले भने ज्यानसम्बन्धी कसुरमा पुस ९ गते नै दर्ता किताब दर्ता गरेको थियो । जसको नम्बर ६७ रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

अनुसन्धान गर्ने क्रममा ‘शव परीक्षण प्रतिवेदन तथा फरेन्सिक प्रतिवेदन’ को रिपोर्ट उपलब्ध नभएपछि जिल्ला सरकारी वकिलको कार्यालय मोरङ (जिल्ला न्यायाधीवक्ता कार्यालय) को निर्देशनमा जमानीमा रणपहेलीलाई माघ २ गते छाडिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी लोकदर्शन थापाले विज्ञप्तिमार्फत् जानकारी दिए । विज्ञप्तिमा उल्लेख भएअनुसार २५ दिन थुनामा राखेर अनुसन्धान गर्नुपर्ने दायित्वअन्तर्गत उक्त अवधि पूरा भएपछि सरकारी वकिल कार्यालयको निर्देशनमा छाडिएको हो । 

घटनाका प्रतिवादी मानिएका रणपहेलीलाई छाडिएपछि मृतकका आफन्त तथा छिमेकीहरूले प्रहरीको अनुसन्धानप्रति शंका जाहेर गरेका छन् । प्रहरीले अनुसन्धानको क्रममा शंकास्पद मृत्यु भएका व्यक्तिको मिसिलमा असम्बन्धित तस्बिर संलग्न गरेको दाबी पीडित परिवारको छ । प्रहरीले घटनालाई ढाकछोप गर्नका लागि अनुसन्धानको मिसिलमा असम्बन्धित तस्बिर संलग्न गरेर अनुसन्धानलाई प्रभावित बनाउने कार्य गरेको पीडित परिवारको आरोप छ । 

पीडित परिवारले रणपहेलीलाई उन्मुक्ति दिने गरी मिसिल कमजोर बनाइएको बताउँदै आएको छ । मृतकका बुबा प्रेमप्रसाद बास्तोलाले मिसिलमा समावेश गरिएको आफ्नो छोराको तस्बिरमा चाँदीको सिक्री लगाएको पाइएको बताए । सोमबार पनि पीडित परिवार र स्थानीयले उर्लाबारीस्थित इप्रका घेराउ गर्दै प्रहरीविरुद्ध नाराबाजी गरेका छन् । मृतकका बुबा प्रेमप्रसादले यो घटना कर्तव्य ज्यान हो भनेर दाबी गर्ने आधार प्रस्तुत गर्दै भने, ‘पुस ४ गते घरबाट निस्किएको छोरा ५ गते ११ बजेतिर अज्ञात नम्बरबाट फोन गरेर छोरा म¥यो भनेर खबर आयो, यसबाट हामीले के बुझ्ने ?’ उनले प्रहरीले पनि आफूहरूलाई पटकैपिच्छे फरक फरक जानकारी तथा सूचना दिँदै आएकाले पनि प्रहरीमाथि शंका रहेको बताए । 

छोरा म¥यो भन्ने थाहा पाए पनि परिवारले उनको शव चाहिँ उर्लाबारीको गोदावारी अस्पतालमा भेटेका थिए । ‘त्यहाँसम्म प्रवीनलाई कसले ल्यायो भन्नेसम्म हामीलाई थाहा छैन’ प्रेमप्रसादले भने । घटनामा जोडिएका पीडक भनिएकाहरू छाडिएपछि मृतक परिवारले सामाजिक सञ्जालमा प्रहरीप्रति आक्रोस पोखेको थियो । सामाजिक सञ्जालहरूमा मृतक परिवारको गुनासो उछालिएपछि मोरङ जिल्ला प्रहरी कार्यालयले घटनाबारे बुझ्नका लागि एउटा छानबिन समिति गठन गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईको संयोजकत्वमा समिति बनेको छ । समिति आइतबार गठन भएको हो । समितिले बास्तोलो मृत्यु प्रकरणसँग जोडिएका सबै विषयवस्तुलाई मिहीन ढङ्गले केलाउँदै अनुसन्धान गर्ने जनाएको छ । त्यसक्रममा घटनाका तथ्यहरू फरक पर्ने गरी प्रमाण सङ्कल र नष्ट गरी कसुरदारलाई उन्मुक्ति दिने खाल्को गैरव्यवसायिक काम गरेको पाइएमा अनुसन्धान अधिकृतसम्मलाई कारबाही गर्ने विज्ञप्तिमा उल्लेख छ । अनुसन्धानसँगै अन्य कर्मचारीहरूको पनि संलग्नता भेटिए कानूनअनुसार कारबाही गरिने जनाइएको छ । 

urlabari_death1

अब पुनः अनुसन्धान हुँदै छ । यसबाट घटना कर्तव्य ज्यान हो वा भैपरी हो भन्ने विषय खुल्नेछ । पीडित परिवारको प्रहरीमाथि नै आशङ्का रहेकाले अनुसन्धानमा खटिएका प्रहरीले यस घटनालाई ‘सेटलमेन्ट’ गर्न सूक्ष्म अनुसन्धान गर्नुपर्ने बाध्यता रहेको छ ।