ताप्लेजुङ । आफैँले जन्माएको नवजात शिशुको हत्या गरेको अभियोगमा ताप्लेजुङ प्रहरीले दुई महिला पक्राउ गरेको छ ।

मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राकी २२ वर्षीया स्याङ्मु शेर्पा र फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमकी ३७ वर्षीया लाक्पा दिकी शेर्पालाई आईतबार पक्राउ गरेको हो । दुवैलाई अवैध रुपमा बच्चा जन्माएर हत्या गरेको अभियोग छ ।

स्याङ्मुले गत माघ २२ गते अवैध नवजात शिशु जन्माएर हत्या गरेको प्रारम्भिक बयानमा स्विकारेको ताप्लेजुङ प्रहरीले जनाएको छ । गत माघ ३० गते अलैची बगानभित्र नवजात शिशुको शव भेटिएको थियो । शवको जिल्ला अस्पतालमा पोष्टमार्टमपछि मेरिङदेन गाउँपालिकाले अन्त्यष्टि गरिसकेको छ ।

उता फक्ताङ्लुङ गाउँपालिका वडा नं २ खेजिनिमको गुम्बाडाँडा छेउमा अम्रिसो रोपिएको पाखामा शनिबार दिउँसो नवजात शिशुको शव फेला परेको थियो ।

शव देखेपछि स्थानियले प्रहरीललाई खबर गरेका थिए । शव भेटिएको खबर पाएपछि घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धानका क्रममा सोही गाउँकी लाक्पा दिकीलाई पक्राउ गरेको थियो ।

३७ वर्षीय लाक्पादिकीले पनि अवैध रुपमा रहन गएको गर्भबाट गत माघ ७ गते नवजात शिशु जन्मिएको हुनाले हत्या गरेर फालेको प्रारम्भिक बयानमा बताएको प्रहरी निरिक्षक मोहान पोख्रेलले जानकारी दिए ।

शवको प्रारम्भिक अनुसन्धानपछि जिल्ला अस्पताल ताप्लेजुङमा पोष्टमार्टम भइरहेको छ । दुवैलाई जिल्ला अदालतबाट आइतबारै ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।