भण्टाबारी। लागूऔषध नियन्त्रण गर्न सीमामा निगरानी बढाएको प्रहरीले बताए पनि लागूऔषध ओसार–पसार हुने क्रम भने रोकिएको छैन ।

सुनसरीका विभिन्न सीमावर्ती  क्षेत्रबाट लागूऔषध कारोबार नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको बताए पनि लागूऔषधको कारोबार यथावत् रहेको हो । सीमा सिल हुँदासमेत लागूऔषध प्रयोगकर्ता तथा कारोबार बढेपछि सुनसरी प्रहरीले सक्रियता बढाउँदा न्यूनीकरण उन्मुख देखिएको लागूऔषध कारोबारी फेरि सल्बलाउन थालेका छन् ।

जिल्लाका विभिन्न सीमा नाकाको चोरबाटो हुँदै लागूऔषध प्रयोगकर्ता तथा कारोबारीको सङ्ख्या बढेपछि रोकथाम तथा नियन्त्रणका लागि सुनसरी प्रहरीले ‘स्टिङ अप्रेसन’ सञ्चालन गरेको थियो । तर, पछिल्लो समय सीमामा सुरक्षाकर्मीको सङ्ख्यामा व्यापक कमी आएपछि लागूऔषध ओसार–पसार हुने क्रम फेरि बढेको हो ।

ठूलो परिमाणमा लागूऔषध बरामद
सशस्त्र प्रहरी बल बिओपी श्रीपुरबाट इन्स्पेक्टर पूर्णबहादुर दाहालको नेतृत्वमा खटिएको प्रहरी टोलीले समेत यही हप्ता ठूलो परिमाणमा लागूऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

चेकजाँचको क्रममा कोशी गाउँपालिका–३ पश्चिम कुसाहाबाट सशस्त्र प्रहरीले लागूऔषधसहित धरान उपमहानगरपालिका–१५ का २२ वर्षीय अनिल लिम्बूलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले बताएको छ । लिम्बूले को.२७ प ८५९१ नम्बरको स्कुटीमा लागूऔषध लैजाँदै गर्दा चेकजाँचको क्रममा नियन्त्रणमा लिएको इन्स्पेक्टर दाहालले जानकारी दिए । उनको साथबाट ५ सय ५० थान स्पास्मोप्रोक्सिभन प्लस ट्याब्लेट र २९ सय ७० थान ट्राण्डोल २५० बरामद गरिएको हो ।

यसैबीच सशस्त्र प्रहरी बल बिओपी लौकहीबाट खटिएको टोलीले लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ । भारतबाट लुकाएर ल्याएको लागूऔषधसहित एकजना युवालाई शुक्रबार राति पक्राउ गरेको सशस्त्र प्रहरी बल बिओपी लौकहीका इन्स्पेक्टर अरुण पाण्डेले जानकारी दिए । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–६ सङ्गम टोलका २० वर्षीय सुरज चौधरी रहेका छन् ।
चेकजाँचको क्रममा चौधरीलाई भोक्राहा नरसिंह गाउँपालिका–६ बाट नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

झोलामा प्याक गरी भारतबाट नेपालतर्फ लागूऔषध ल्याउँदै गरेको अवस्थामा चेकजाँच गर्दा चौधरीको साथबाट नाइट्रोजन ट्याब्लेट १ सय २ पत्ता (१ हजार २० थान), स्पास्मोप्रोक्सिभन आईपी, ट्रमाडोल क्याप्सुल १ पत्ता ८ क्याप्सुल, डाइलेक्स डिसी २ बोतल र गाँजा १ सय ५० ग्राम बरामद गरिएको इन्स्पेक्टर पाण्डेले जानकारी दिए । पक्राउ परेका चौधरीलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय लौकहीमा राखिएको छ ।

जिल्लाका विभिन्न सीमा नाकाबाट नियमितरूपमा लागूऔषधसहित धमाधम पक्राउ पर्नुले समेत सुनसरीको सीमावर्ती क्षेत्रमा लागूऔषध कारोबार फेरि बढेको देखाउँछ । यद्यपि प्रहरी भने लागूऔषध कारोबार बढेको भन्दा पनि रोकथाम तथा नियन्त्रणका लागि चलाएको ‘स्टिङ अप्रेसन’ का कारण लागूऔषध कारोबारी पक्राउ पर्ने गरेको बताउने गर्छ ।

लागूऔषध प्रयोगकर्ता तथा कारोबारीले सुनसरीको कोशी गाउँपालिका क्षेत्रलाई केन्द्रित गरेर सबैभन्दा बढी कारोबार गर्दै आएका छन् । कोशी गाउँपालिका क्षेत्रमा लौकही, भण्टाबारी, लौकही र श्रीपुर गरी चारवटा बिओपी छन् । तीमध्ये लौकही र श्रीपुर क्षेत्रबाट लागूऔषधको कारोबार बढी हुने गरेको पाइन्छ ।

लागूऔषध प्रयोगकर्ता र कारोबारीका लागि लौकही केन्द्रविन्दुका रूपमा रहेको सशस्त्र प्रहरी बल बिओपी लौकहीका इन्स्पेक्टर अरुण पाण्डेले जानकारी दिए । आफू आएलगत्तै लागूऔषध रोकथाम तथा नियन्त्रणका लागि सामुुदायिकस्तरमा जनचेतना फैलाउँदा विगतको भन्दा उल्लेखनीय रूपमा लागूऔषध कारोबार घटेको उनको भनाइ छ ।

खुला सीमा भएकोले सूचना बिना लागूऔषध कारोबारीलाई पक्राउ गर्न सजिलो नभएको पाण्डेले बताए ।  खुला सीमाको फाइदा उठाएर लागूऔषध सेवनकर्ता र कारोबारीको सङ्ख्या बढेको पाइएको हुँदा नियन्त्रण गर्न सीमामा सशस्त्र प्रहरीले निगरानी बढाएको सशस्त्र प्रहरी बल सुनसरीका एसपी माधव पौडेलको दाबी छ ।