इनरुवा । जनप्रतिनिधिले लुकाएर राखेको ४ सय ५० बोरा चामलसहितको गोदाम सुनसरी प्रशासनले सिल गरेको छ । 

जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार गोदामको रूपमा प्रयोगमा ल्याइएको इनरुवा–३ का युवराज दाहालको घरको तल्लो फ्ल्याट सिल गरिएको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले उजुरीका आधारमा गोदाम पुगेको टोलीले ठूलो परिमाणमा चामलका बोरा भेटेपछि छानबिनको लागि गोदाम सिल गरेको बताए ।

प्रजिअ पोखरेलका अनुसार २५ केजी दरका ४ सय ५० बोरा चामल कोठामा राखेको भेटिएको छ । उनले उक्त परिमाणको चामल कसले कुन प्रयोजनको लागि राखेको हो भन्ने विषयमा छानबिन थालिएको बताए । 

पोखरेलका अनुसार प्रशासनमा परेको उजुरीमा सो चामलका बोरा भोक्राहा नरसिंह गाउँपालिकाका जनप्रतिनिधिहरूले लुकाएको उल्लेख छ । उजुरीमा कोरोना महामारीका बीच घोषित लकडाउनको क्रममा विपन्नलाई वितरण नगरी वडानम्बर ४ का अध्यक्ष हारुन अन्सारी र वडानम्बर ८ का अध्यक्ष हातिम अन्सारीले लुकाएर राखेको दाबी गरिएको छ ।

सुनसरी प्रशासनले सो सम्बन्धमा परेको उजुरी, प्राप्त सूचना र फेला परेको गोदामको विषयमा केन्द्रित रही भोक्राहा नरसिंह गाउँपालिकाको कार्यालय समक्ष विस्तृत जानकारी खुलाई लिखित जवाफ पठाउन पत्र काटिएको जनाएको छ । 

प्रशासनले चामल कसको र किन राखिएको हो भन्ने व्यहोरा स्पष्ट खुलाउन गाउँपालिकालाई भनेको छ । प्रशासनले कुन प्रयोजननको लागि चामल खरिद भएको हो र घरभाडा कसले लिएको समेत स्पष्ट पार्न भनेको बताइएको छ । प्रजिअ पोखरेलले गाउँपालिकाबाट प्राप्त जवाफसँगै आवश्यकता अनुरूप उजुरी परेका वडाध्यक्षहरूलाई सोधपुछ गरिने बताएका छन् ।

उनले घरधनीसँग समेत सोधपुछ गरिएको बताए । प्रशासनबाट प्राप्त जानकारी अनुसार घरधनीले आफ्नो घरको तल्लो फ्ल्याटमा कात्तिक महिनादेखि नै चामल भण्डारण गरेर राखिएको बताए । घरधनीलाई उद्धृत गर्दै प्रशासनले दिएको जानकारी अनुसार वडाअध्यक्ष हारुन र हातिम अन्सारीले ८ हजार मासिक भाडा तिर्दै आएका छन् ।

उनीहरूले कुन प्रयोजनको लागि किन र कहाँबाट त्यत्रो परिमाणको चामल ल्याएर राखेका हुन् भन्ने बारे भने घरधनीले आफू जानकार नभएको प्रतिक्रिया दिएको प्रशासन बताउँछ ।

समाचार सङ्कलनको लागि स्वयम् सम्बन्धित घरधनीसँग बुझ्दासमेत उनले आफूले घरको तल्लो फ्ल्याट भाडामा लगाएको र त्यहाँ लामो समयदेखि चामलका बोरा राखिएको प्रतिक्रिया दिए ।

भोक्राहाका उजुरीकर्ता स्थानीयले भने स्वयम् जनप्रतिनिधिले लकडाउनको समयमा गरिब र विपन्नलाई वितरण गर्न गाउँपालिकाले खरिद गरेको र अनुदानमा प्राप्त चामल वडाध्यक्षद्वयले लुकाएर राखेको दाबी गरेका छन् ।

लुकाएर राखिएको चामल सहजै बिक्री गर्न असम्भव देखिँदा लामो समययता गोदाममा थन्किएर रहेको उनीहरूको भनाइ छ । लकडाउनको समयमा गरिएको भनिएको राहत वितरणको विषयमा यसअघिसमेत भोक्राहा नरसिंह गाउँपालिकाका जनप्रतिनिधिहरू विवादमा मुछिएका थिए ।