भद्रपुर। कर्मचारीको कुटाइबाट विद्यार्थीको ज्यान गएको घटनाको अनुसन्धान अझै निष्कर्षमा पुग्न सकेको छैन । 

झापाको कन्काई–६ चम्पापुर माध्यमिक विद्यालयमा अध्ययनरत सोही ठाउँका १० वर्षीय बालक कृष्णप्रसाद राजवंशीको मृत्युको विषयमा कुटाइबाट भएको हो वा अन्य कारणले भएको भन्ने विषय अझै अनुसन्धानको चरणमा रहेको छ ।

विद्यालयमा कार्यरत खरिदार रविन मगरको पिटाइबाट कृष्णप्रसादको मृत्यु भएको आफन्तको आरोप छ । उपचारको क्रममा कृष्णप्रसादको मृत्यु भएपछि मृतकका दाजु सुदीप राजवंशीले आरोपित कर्मचारी मगरविरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा किटानी जाहेरी दिएका थिए । जाहेरी दिएको र परिवार नै शोकमा डुबेपनि प्रहरीको सम्पर्कमा बसेको दाजु सुदीपले बताए ।

आरोपित मगरको विषयमा विद्यालयको तर्फबाट कुनै कानूनी कारबाही नगरिएको विद्यालयका प्रिन्सिपल विष्णुप्रसाद कोइरालाले बताए । प्रहरी केस भइसकेपछि स्वतः निलम्बन भएकोले मुद्दाको छिनोफानोलाई पर्खेर बसेको उनले जानकारी दिए ।

आरोपित मगरलाई म्याद थप गर्दै अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सन्तोष आचार्यले बताए । पीडित पक्षले दिएको उजुरीलाई आधार मानेर प्रहरीले अनुसन्धान जारी राखेको उनले जानकारी दिए । माघ १८ गते अङ्ग्रेजी पढाउँदा नजानेपछि कान मोलेर गालामा झापड हानेको निहुँमा घाइते भएका बालकको ११ दिनमा उपचारको क्रममा मृत्यु भएको थियो ।