विराटनगर। प्रदेश १ का चार जिल्लामा पछिल्लो समय जघन्य अपराधको घटना बढेर गएको छ । झापा, मोरङ, सुनसरी र उदयपुरमा जघन्य अपराधको घटना बढेर गएको हो ।

झापा भद्रपुर नगरपालिका–७ का ५८ वर्षीय साहेबा उराउ आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा मङ्गलबार पक्राउ परेका छन् । सोमबार उराउ र उनकी श्रीमती ६० वर्षीया फिल्सिता उराउबीच मादकपदार्थ सेवनका कारण आपसी विवाद हुँदा उराउले फिल्सितालाई टाउकोमा ढुङ्गा प्रहार गरी घाइते बनाएका थिए । उनको मङ्गलबार राति २ बजे मृत्यु भयो । मदिराको नशामा लठ्ठिएका साहेबाले सामान्य झगडा हुँदा श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । 

यस्तै प्रकृतिको घटना माघ १९ मा मोरङको जहदा गाउँपालिका–१ धुनीटोलमा पनि घट्यो । ससुराली आएका ज्वाइँले श्रीमतीसँगको झगडाका कारण दाउ प्रहार गरेर सासूको हत्या गरे । झगडा हुँदै गर्दा छुट्याउन आएकी ५५ वर्षीया जोसनीदेवी सरबरियाको हत्या गरेपछि झापाको गौरीगञ्ज नगरपालिका–१३ का कनु भन्ने प्रेमलाल सरबरिया पक्राउ परे । सासूको हत्या आरोपमा पक्राउ परेका सरबरियालाई इलाका प्रहरी कार्यालय रानी विराटनगरले कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अहिले अनुसन्धान गर्दै आएको छ । ८ मङ्सिरमा झापाको कमल गाउँपालिका ६ का ४७ वर्षीय चूडामणि भण्डारी श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परे ।

चूडामणिका ३९ वर्षीय श्रीमती टीकादेवी पौडेल र दमक नगरपलिका–२ का २५ वर्षीय प्रकाशचन्द्र दाहाल खेतमा धान उठाउन गएकोमा भण्डारी एक्कासि आवेशमा आई दुवैमाथि खुकुरी प्रहार गर्दा टीका देवीको घटनास्थलमा नै मृत्यु भयो । ११ मङ्सिरमा सुनसरी दुहबी नगरपालिका–२ का १७ वर्षीय सुजननारायण चौधरीको हत्या उनकै साथी २० वर्षीय सुमन झाले गरे । सामान्य निहुँमा आवेगमा आएर चौधरीको हत्या झाले गरेका थिए ।

मेला लागेको ठाउँ र सार्वजनिकस्थलमा चौधरीले अपशब्द प्रयोग गर्दै बेइज्जत गरिदिएको कारणले त्यसको रिस फेर्न हत्या गरेको सुनसरी प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको थियो । पक्राउ परेका झा अहिले अदालतको आदेशपछि पुर्पक्षको लागि थुनामा छन् । 

उल्लेखित घटना प्रतिनिधि मात्रै हुन् । चालु आर्थिक वर्षको कात्तिकसम्ममा प्रदेश १ मा ४६ वटा हत्या घटना भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । ४६ वटा कर्तव्य ज्यान मुद्दा दर्ता भएकोमा ६९ पुरुष र ९ महिला पक्राउ परेका छन् भने ३६ जना फरार छन् । फरार हुनेमा ३५ पुरुष र १ महिला छन् । आर्थिक वर्ष २०७६÷०७७ मा प्रदेश १ मा ९७ वटा कर्तव्य ज्यानको मुद्दा दर्ता भएको छ ।

उक्त घटनामा १ सय ५१ जना पुरुष र १३ महिला पक्राउ परेका छन् भने १५ जना फरार छन् । फरार हुनेमा १४ पुरुष र १ महिला छन् । पछिल्लो समय आफ्नो निहित स्वार्थ पूर्तिका लागि जीवनभरि साथ दिने परिवारभित्रका सदस्य काल बनेर आउने गरेको घटना पनि बढेर गएको प्रहरीले जनाएको छ । जीवनभरि साथ दिन्छु भनेर विवाह बन्धनका बाँधिएकाहरूबाट जघन्य अपराधको दल–दलमा फस्ने गरेका छन् । परिवारको एउटा सदस्यले अर्काेको हत्या नै गर्नेसम्मका आपराधिक घटना प्रदेश १ मा बढेको सुरक्षा अधिकारीको भनाइ छ । 

लामो समयदेखि यस्ता अपराधको अध्ययन एवम् अनुसन्धान गर्दै आएका मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले पारिवारिक सम्बन्ध सुमधुर राख्न नसक्दा, एक–अर्कामा विश्वास गुम्दा र आपसी बेमेल उत्पन्न हुँदा पारिवारिक अपराधका घटना हुने गरेको बताए । ‘विभिन्न क्षेत्रमा निराश भएपछि आमुक व्यक्तिलाई देख्ने गर्दछ । त्यसमा आफन्तलाई बाधकको रूपमा हेर्ने गर्दछन्’ एसपी खड्काले भने, ‘आवेगमा आएर जघन्य प्रकृतिका घटना घटाउने गरेका छन् ।’ प्राथमिकता दिनुपर्ने कुराभन्दा अरूतिरै मानिस बढी आकर्षित हुँदा, परिवारले सही गति र दिशा लिन नसक्दा, एक–अर्कालाई शङ्काको नजरले हेरिँदा, एकले अर्काको भावना बुझ्न नसक्दा यस्ता घटना हुने गरेको उनको भनाइ छ ।

सामाजशास्त्री प्राध्यापक डा. डिल्ली प्रसाईं पछिल्लो समय बढ्दो कलहसँगै सिर्जित अपराधका कारण पारिवारिक सम्बन्ध जटिल मोडमा पुगिरहेको विश्लेषण गर्छन् । सामाजिक  र आर्थिक कारणले अहिले परिवारभित्रका सदस्य अपराध कर्ममा लाग्ने गरेको उनको बुझाइ छ । ‘बढ्दो प्रविधिको प्रयोग र व्यक्तिवादी सोच यसका मुख्य जड हुन्’ उनले भने, ‘आफ्नो मात्रै हरेक कुरा प्रस्तुत गर्ने व्यक्तिवादी सोच सबैमा हाबी हुँदा सामूहिकता र हार्दिकता टुटेर गएको देखिन्छ ।’ पैसा र सम्पत्तिका लागि जे पनि गर्ने र गलत बाटो अङ्गीकार गर्ने चलन बढ्दा पुरानो चलन तथा संस्कारको परिपाटीमा ‘ब्रेकडाउन’ भएर परिवार र समाज विघटनतर्फ उन्मुख भइरहनु दुःखद् भएको प्रसाईंले बताए ।