सुनसरी जिल्लामा सम्भावना बोकेका नेताका रुपमा उदयीमान रेवतीरमण भण्डारीलाई तत्कालीन एमालेमा उठ्न नसक्ने गरी लडाएको आरोप लाग्ने गरेको छ नेकपा माधव प्रचण्डका नेता भीमप्रसाद आचार्यलाई । वि.सं. २०७० सालको  संविधान सभाको निर्वाचनपछि पार्टीभित्र रेवतीरमण भण्डारीलाई  उठ्ने मौका नदिएको आरोप भीम आचार्यले खप्नु परेको छ ।  

आम निर्वाचनका बेला टिकट बिक्री गरी अनियमितता गरेको आरोपसमेत खेप्ने गरेका सुनसरी क्षेत्र नं. १ ख बाट प्रदेशसभामा विजयी सांसद् भीम आचार्यमाथि मंगलबार सुनसरीे नेकपा (ओली समूह)का नेताले उछितो काढेका छन् ।

सांसद् आचार्यमाथि वराहक्षेत्रमा पूर्व सांसद् तथा नेकपा ओली समूहका सुनसरी अध्यक्ष रेवतीरमण भण्डारी, प्रदेश १ का उद्योग, वन तथा वातावरण मन्त्री जगदीश कुसियत, वराहक्षेत्रका मेयर निलम खनालले सरकारलाई अप्ठ्यारो पार्ने काम गर्ने, पार्टी विभाजनको मुख्य मतियारका रुपमा भीम आचार्य रहेको आरोप लगाए । 

भीम आचार्यको कथित कुकर्मको फेरिस्त सुनाउँदै अध्यक्ष भण्डारीले भने, ‘सरकारलाई अप्ठ्यारो पार्ने काम गरेको छ, यही क्षेत्रबाट चुनाव लडेर जितेको अपराधकर्मीको भीमप्रसाद आचार्यले, जसले अहिलेमात्र कुकर्म गरेन, २०७० सालमा चुनाव जितेर गएपछि तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनालको ज्वाइँ भएकै कारणले सबै भन्दा बढी पैसा कमाउने मन्त्रालयको मन्त्री बनाइए, तर ६ महिनापछि लुटेको, भ्रष्टाचार गरेको अकुत सम्पत्तिमा ज्वाइँ ससुराको भागबण्डा मिलेन र झगडा भयो ।’ 

भण्डारीले आमसभालाई सम्बोधन गर्दै भने, ‘थोरै कमाएको भए हुँदैनथ्यो, पोखरा विमानस्थलको ठेक्कामा मात्र भीम आचार्यले अर्बौंको चलखेल गर्दै थिए, भैरवा विमान स्थलको ठेक्कामा मात्रै करोडौं होइन अरबौंको ठेक्का गर्दै थिए, झलनाथ खनालप्रति इंगित गर्दै उनैले घुमाउरो पारामा टेलिभिजनमा झलनाथ खनालसँग मेरो भ्रष्टाचार गरेको पैसामा हिसाब मिलेन भनेर स्वीकारेका थिए ।’ 

नेता भण्डारीले भीम आचार्य कहिले आफ्नो घर भएको क्षेत्रमा जित्न नसकेको र अर्काको भाग खोसेर त्यहीँ (वराहक्षेत्र) का जनताको शिर निहुराएर बद्नाम गर्ने बेइज्जत गर्ने, अनि पार्टीभित्र टिकट बेचेर खानेसम्मको हुर्मत गरेको आरोप लगाए । नेता भण्डारीले भीम आचार्य पार्टी विभाजनको मुख्य मतियार र यो सरकारलाई काम गर्न नदिने अपराधकर्मी भएको आरोप लगाए । 

नेता भण्डारीले भने, ‘यहाँ (वराहक्षेत्र) बाट जित्ने, सिन्को नभाँच्ने, अपराध गर्ने, पार्टीभित्र टिकट बेच्ने, विपक्षी पार्टीसँग साँठगाँठ गर्ने यहाँका साथीहरुले वराहक्षेत्र निषेधको घोषणा गर्नुस् ।’ 

नेता भण्डारीले मात्र होइन प्रदेश १ का उद्योग वन तथा वातावरण मन्त्री जगदीश कुसियतले पनि मन्त्री मण्डलमा गएको थोरै समयमा धेरै भ्रष्टाचार गर्ने मान्छेको नाम आफूले बिर्सिएको तर अनुहार झलझली आँखामा आइरहेको बताए । ‘मन्त्री मण्डलमा गएर थोरै समयमा भागवण्डा नमिल्दा तिरष्कृत गरिएको व्यक्तिको नाम बिर्सेको छु तर अनुहार झलझली आएको छ, जसले वराहक्षेत्रको समृद्धि र उन्नति हुनै दिएन ।’ 

२०७० सालमै भीम आचार्यलाई वराहक्षेत्रबाट उठ्न नदिनका लागि पार्टीभित्र आन्दोलन गरेका नेकपा ओली समूहका सुनसरी जिल्ला सहसंयोजक तथा वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनाल पनि आचार्यमाथि कडा रुपमा प्रस्तुत भए । ‘७० को संविधान सभा निर्वाचनमै उनलाई (भीम आचार्यलाई) बिदा दिन लागेका थियौं । जिल्ला पार्टी कमिटीमा लामो छलफल भयो र अब सुध्रिन्छ होला भनेर छाडियो तर इनरुवाको बाँदरले चारकोशे झाडीमा बोक्रा चिथोर्न कहिल्यै छाडेन, अब त्यो बाँदरलाई टुंगो लगाउने दिन आएछन् ।’ भीम आचार्यप्रति इंगित गर्दै खनालले भने । 

वराहक्षेत्रको उन्नति र प्रगतिमा भीम आचार्यको कुनै देन नरहेको नगर प्रमुख खनालले बताए । उनले भने, ‘फेरि पनि यो क्षेत्रमा निर्वाचन लड्न चुनौतीका साथ आह्वान गर्छु उनको जमानत जफत गरेर यहाँका जनताले पठाइदिने छन् ।’

राष्ट्रिय युवा सङ्घ नेपाल वराहक्षेत्रको नगर कमिटी घोषणा कार्यक्रममा वक्ताहरुले नेकपा विभाजन भएको घोषणा गरे । उनीहरुले पार्टी फुटेको र फुटको विशिष्ट परिस्थितिमा पनि एउटा मूल शक्ति र पार्टी निर्माण हुने विश्वास व्यक्त गरे । उनीहरुले यही पार्टी नै वामपन्थी र प्रगतिशील पार्टीको भरपर्दो साथी हुने दृढता व्यक्त गरे । 

‘पार्टी नफुटोस् भन्ने चाहना भए पनि एकता भएको भोलिपल्टदेखि नै पार्टी विभाजनको बिऊ रोप्ने काम भयो, प्रचण्ड माधव समूहले सरकारमाथि नै घेराबन्दी गर्ने काम गरेपछि पार्टी विभाजनको दिशामा गएको हो ।’ केन्द्रीय सदस्य युवराज गौतमले भने । 

वराहक्षेत्र ५ स्थित कालाबन्जारमा आयोजित भेलामा मणिराज तामाङको संयोजकत्वमा ६१ सदस्यीय राष्ट्रिय युवा सङ्घ नगर कमिटी घोषणा गरिएको छ ।