भद्रपुर । टाउकोमा ढुङ्गा प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ परेका छन् ।

भद्रपुर नगरपालिका ७ बुधकरण टी स्टेटको १० नम्बर क्वाटरमा बसोबास गर्दै आइरहेका अन्दाजी ६० वर्षीय साहिबा उराउले आफ्नै श्रीमती ५७ बर्षीया फुलसिता उराउको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  

श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमान् साहिबालाई पक्राउ गरिसकेको जिल्लाका डिएसपी राकेश थापाले जानकारी दिए ।

प्रहरीका अनुसार सोमबार दिउँसो ३ बजे श्रीमान् श्रीमती दुवै जना मदिरा सेवन गरी झगडा गरेका थिए । झगडाको क्रममा श्रीमानले श्रीमतीको टाउकोमा ढुङ्गा प्रहार गरेका थिए । श्रीमानको  ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । 

त्यहाँ उपचार गराई क्वाटरमा ल्याए पश्चात् उनको मङ्गलबार बिहान २ बजे मृत्यु भएको थियो । मृत्यु भएको जानकारी तत्काल त्यहाँका स्थानीयले वडा प्रहरी कार्यालय भद्रपुरलाई विहान ८ बजे जानकारी गराएका थिए ।