बिर्तामोड । देशभर कार्यक्षेत्र रहेको काभ्रे जिल्लाको ‘समृद्ध नेपाल कृषि सहकारी सस्था’ ले प्रदेश १ को कार्यालय सञ्चालनमा ल्याएको छ । झापाको बिर्तामोडमा रहेको कार्यालयको सोमबार एक समारोहमा उदघाटन गरिएको छ ।

काभ्रेको बेथानचोकमा केन्द्रिय कार्यालय रहेको संस्थाले पहिलो चरणमा १८ वटा सेवा केन्द्र विस्तार गर्न लागेको संस्थाका प्रदेश इन्चार्ज गोपाल आचार्यले जानकारी दिए । प्रदेश १ को कार्यालयको जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालले उद्घाटन गरेका थिए ।

प्रमुख अतिथि समेत रहेका ढकालले उत्पादनसँगसँगै बजार विस्तार गर्नुपर्ने, सदस्यको विश्वास जित्नु पर्ने, उत्पादन र बजारलाई जोडेर सदस्यको जीवनस्तर उकास्न सकिने सुझाव समेत दिएका थिए ।

अध्यक्ष दलबहादुर विसीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष धिरोज सिर्पालीले स्वागत गरेका थिए । अध्यक्ष विसीले संस्थाको कार्ययोजना बताउँदै यो सहकारी पैसा किन्ने र बेच्ने नभएको बताए । उनले संस्थाले कृषिमा क्रान्ति गर्दै माटो बचाउ अभियान गर्ने बताए । प्रदेश सेवा केन्द्रले आवश्यकता अनुसार अन्य सेवा केन्द्र बिस्तार गर्दै लाने उनको भनाई छ ।

संस्थाले अर्गानिक उत्पादनलाई जोड दिदै आगामी बैशाखसम्ममा ३६ हजार शेयर सदस्य पुर्याउने लक्ष्य राखेको बताइएको छ । हाल प्रदेश नं. १ अन्र्तगत ४ सय ८३ जना शेयर सदस्य रहेको प्रदेश इन्चार्ज आचार्यले बताए ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र झापाका प्रमुख शालिकराम भट्टराई, कनकाई नगरपालिका १ का अध्यक्ष रोशन पोखरेल, गोपाल प्रसाई, कृष्णचन्द्र महर्जन, धनमाया थापा, दुर्गा खनाललगायतको सहभागिता रहेको थियो ।