विजयपुर। विगतदेखि हालसम्म भएका चोरी घटनामा संलग्न पक्राउ नपर्नुले प्रहरी असफल भएको देखाउँछ । 

मङ्सिरमा धरान–६ पानबारीस्थित निशान बचत तथा ऋण सहकारी संस्थाको झ्याल फोडेर करिब १५ लाख रुपैयाँ चोरी भयो । सहकारीको सिसीटिभी फुटेजमा पनि चोरहरूले झ्याल फुटाएर चोरी गरेकोसम्म देखिएको थियो । जहाँ तालिमप्राप्त कुकुरहरू पनि प्रयोग गरिए । तर, हालसम्म चोरीमा संलग्न पक्राउ पर्न सकेका छैनन् ।

यो धरानमा हालै भएको चोरीको प्रतिनिधि घटना मात्रै हो । यसअघि भएका चोरीका घटनामा पनि संलग्न पक्राउ पर्न सकेका छैनन् । तीन वर्षअघि धरानको कलेज रोडमा मोबाइल पसल चोरी भए पनि हालसम्म चोरीमा संलग्न पक्राउ पर्न सकेका छैनन् । यस्ता प्रतिनिधि घटनालाई केलाउने हो भने प्रहरी यसमा चुकिरहेको देखाउँछ । 

दुई दिनअघि अर्थात् माघ ३० गते धरानको भोटेपुलमा सडकमा हिँडिरहेका दुईजना यातायात मजदुरमाथि पनि आक्रमण गरेको थियो । त्यसको अघिल्लो दिन धरान–६ पानबारीमै ७४ वर्षीया जसमाया लिम्बूको सुनको गहना लुटपाट गरी घाँटी रेटेर हत्याको प्रयास गरिएको थियो ।

ज्यान मार्ने उद्योगसम्मको प्रयास भए पनि हालसम्म प्रहरीले यस्ता घटनामा संलग्नहरूलाई पक्राउ गर्न सकेको छैन । माघ २५ गते पनि धरान–३ माछाभौडीमा धरान उपमहानगरका सफाइकर्मी कैलाश मरिकमाथि धारिलो हतियार प्रहार गरिएको केहीदिनपश्चात् प्रहरीले पक्राउ गरेको थियो ।

धरान–६ पानबारीको हेब्रोन इङ्लिस बोर्डिङ स्कुलको टेलिभिजनसहित करिब ५० हजारको चोरी भएको थियो । करिब तीन साताका बीचमा भएका यस्ता घटनाका आरोपितहरू अहिले पनि खुलेआम हिँडिरहेका छन् । जसमा प्रहरी असफल बनिरहेको छ । 

इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर हेमराज ओलीले हालसम्म भएका घटनाको अनुसन्धान गरिरहेको र सुरक्षा सक्रियता बढाएकाले चाँडै पक्राउ पर्ने दाबी गरे । उनले दरबन्दी अभावका कारण पनि सोचेअनुसारको सुरक्षा प्रदान गर्न नसकेको स्वीकारे । उनले भने, ‘धरानको ३ स्थानमा दरबन्दी दिएको छ, धरानका १४ स्थानमा चौकी राखेका छौं, धेरै घटनाका दोषीलाई पक्राउ गरेका छौं ।’

धरान–६ का वडाध्यक्ष भूवनसिंह बस्नेतले सुरक्षाकर्मीको अभावमा पानबारीमा बर्सेनि दर्जनौं घटना हुने गरेको बताए । आवश्यक सुरक्षाकर्मीको दरबन्दी माग गर्दै प्रदेशका कानूनमन्त्री हिक्मत कार्कीसम्म पुगेको भए पनि हालसम्म दरबन्दी मिलान हुन नसकेको बताए । इलाका प्रहरी कार्यालय धरानको आँकडामा आर्थिक वर्ष २०७४÷७५ मा २७ वटा, आर्थिक वर्ष २०७५÷०७६ मा २८ र २०७६÷७७ मा २६ र चालु आर्थिक वर्षको हालसम्म २० वटा चोरीका घटना भइसकेका छन् ।