भण्टाबारी । किर्ते नागरिकता लिएका व्यक्तिउपर कारबाही गर्न सरकारी पक्ष गम्भीर देखिएको छैन । ब्राउन सुगरसहित धरानबाट मंसिर १९ गते पक्राउ परेका राजकुमार सिंह भारतीय नागरिकसँगै किर्ते गरेर नेपाली नागरिकता लिएको पुष्टि भएपनि उनलाई कारबाही गर्ने सरकारी पक्ष गम्भीर बनेको पाइदैन । 

सिंहलाई राजनीतिक दबाबका साथै आर्थिक चलखेल गर्दै धरौटीमा छुटाउन सरकारी निकाय नै लागिपरेको श्रोतको आरोप छ । यथेष्ट प्रमाण भएर पनि पक्राउ परेका सिंहमाथि कारबाही प्रक्रिया अगाडि न बढाउँदा उक्त आरोपमा बल पुगेको देखिन्छ ।

 सिंह भारतीय भएको प्रमाणसँगै नेपालमा सप्तरी जिल्लाको तत्कालीन पकरी गाविस २ बाट किर्ते गरी नागरिकता लिएको कुरा पुष्टि भइसकेको छ । पक्राउ परेका सिंहका एक भारतीय र एक नेपाली गरी दुई श्रीमती छन् । 

उनको भारततर्फका श्रीमतीको नाम कान्ति देवी हो भने अजयकुमार सिंह एउटा छोरा छन् । कान्तिदेवीको नाममा रहेको १०२०८०११०२२२०८७६००००१९५१ नम्बरको भारतीय राशन कार्डमा राजकुमार सिंहको पति भनी उल्लेख रहेको छ भने उक्त राशन कार्डमा छोरा अजयकुमार सिंहको नाम उल्लेख रहेको पाइन्छ । 

यसैगरी सिंहको नेपालतर्फका श्रीमतीको नाम रन्जु पौडेल सिंह हो । उनीहरू अझैपनि सदरमुकाम इनरुवा बसोबास गर्दै आएका छन् । राजकुमार सिंहको आधार कार्ड नम्बर ३२०८२९७२१८५६ रहेकोे छ भने बिहार राज्यको पञ्चायत आम निर्वाचन नामावलीमा नाम रहेको पुष्टि भएको हो । २०२१ फेब्रुअरी ५ तारीखमा राजकुमार सिंहको भारतीय निर्वाचन आयोगमा मतदाता परिचयपत्र अद्यावधिक भएको प्रमाणसमेत फेला परेको छ । सप्तरीको तत्कालीन पकरी गाविस २ बाट ठाकुरप्रसाद सिंहलाई नक्कली बाबु बनाई सिंहले किर्ते नेपाली नागरिकता लिएको देखिन्छ ।

किर्ते नागरिकताबाट सवारी चालक अनुमतिपत्र लिएका उनको उक्त सवारी अनुमतिपत्रमा नागरिकता नम्बर २र०७३९३११३ उल्लेख गरिएको छ भने लाइसेन्स नम्बर ०१-०२-००३५९७८० रहेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले  २र०७३९३११३ नम्बरको नेपाली नागरिकता जिल्ला प्रशासन कार्यालय सप्तरीबाट जारी नभएको बताएपनि उनको नाममात्र अभिलेखमा उल्लेख रहेको श्रोतको दाबी छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सिंहको नागरिकता सम्बन्ध अनुसन्धान गर्न आवश्यक कागजात उपलब्ध गराउन गरेको पत्राचारको जवाफमा जिल्ला प्रशासन कार्यालय सप्तरीले अभिलेखमा राजकुमार सिंहको नामबाहेक अन्य कुनै अभिलेख उपलब्ध नभएको भनी पठाएको श्रोतको भनाइ छ ।

छानबिन गर्न उजुरी 

सदरमुकाम इनरुवा नगरपालिका वार्ड नम्बर १ मा बसोबास गर्दै आएका राजकुमार सिंह भारतीय भएको प्रमाणसहित छानबिन गर्न बेनामी उजुरी परेको छ । सिंह भारतीय हुनुका साथै किर्ते गरी नेपाली नागरिकता लिएकाले कानुनबमोजिम छानबिन गरी कारबाही गरी पाउ भनी प्रमाणसहित माघ २७ गते उजुरी परेको हो ।

लागूऔषधको कारोबार गर्दै अकुत सम्पत्ति आर्जन गरेका व्यक्तिलाई कारबाही गर्नुपर्नेमा धरौटीमा छुटाउन सरकारी निकाय नै लागिपर्नु आपत्ति विषय हो श्रोतले भन्यो । कारबाही गर्न आवश्यक पर्ने सबै कागजात उपलब्ध गराइएको छ,तर अझैसम्म नागरिकताको सम्बन्धमा छानबिन सुरु गरिएको पाइएन श्रोतले भन्यो । अपराधीक पृष्ठभुमि भएका व्यक्ति भएपनि उनलाई धरौटीमा छुटाउन चलखेल भइरहेको श्रोतको दाबी छ ।

सिंहलाई धरौटीमा छुटाउन राजनीतिक दबाब बनाउनुका साथै मोटो रकमको चलखेलसम्मको योजना सरकारी निकाय बाटै बनेको गम्भीर आरोप लगाइएको छ । मंसिर १९ गते पक्राउ पर्नुअघि सिंह सुनसरीको धरानको एक होटलमा दिउँसो २ बजेदेखि ८ बजेसम्म बसेका थिए । होटलबाट हिडेपछि प्रहरीको छड्के चेकजाँचको क्रममा सिंह आफूले नै चलाएको गाडीबाट ७७ ग्राम ब्राउन सुगरसहित पक्राउ परेपनि सरकारी निकाय उनलाई निर्दोष सावित गराउदै धरौटीमा छुटाउन चलखेल गरिरहेका छन् । यसबारे प्रतिक्रिया लिन सरकार वकिललाई पटकपटक फोन गर्दासमेत फोन उठेनन् ।

यता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाले लागूऔषधसहित पक्राउ परेका सिंहको सम्बन्धमा थप छानबिन गर्न उनको नागरिकताको अभिलेख उपलब्ध हुन नसकेको बताए । जिल्ला प्रशासन कार्यालय सप्तरीमा आवश्यक छानबिन गर्न सिंहको नागरिकताको विवरण माग गरिएकोमा निजको नामबाहेक अन्य अभिलेख नभेटेको र खोजीकार्य भइरहेको भनी जवाफ आएको एसपी थापाले जानकारी दिए ।