भद्रपुर । झापामा कर्मचारीले सजाय दिएका एक विद्यार्थीको मृत्यु भएको छ ।

झापाको कन्काई–६ स्थित चम्पापुर माध्यामिक विद्यालयमा शिक्षक नभएका बेला पढाउन कक्षामा पसेका खरिदार रविन मगरले सजाय दिएपछि विरामी परेका कक्षा ४मा अध्ययनरत १० वर्षीय कृष्णप्रसाद राजवंशीको मृत्यु भएको हो । विद्यार्थीको परिवारले कर्मचारीको कुटाइबाट बालकको मृत्यु भएको आरोप लगाएका छन् ।

मृतक बालकका ठूलोबुवा सञ्जय राजवंशीका अनुसार माघ १८ गते विहानभरी बारीमा घाँस काटेर कृष्णप्रसाद विद्यालय गएका थिए । विद्यालयमा खरिदार मगरले कृष्णप्रसादको कान तानेका थिए । त्यसपछि विरामी परेका उनलाई स्थानीय कामेश मेडिकलबाट सामान्य उपचार पछि घर पठाईएको थियो । तर दिनदिनै कान सुन्निन थालेपछि आफन्तले बारुलाले टोकेको होला भनि बालकका साथीलाई सोध्दा ‘रविन सरले कान मोलेर यस्तो भएको’ बताएका थिए ।

बालक झनै विरामी परेपछि विर्तासिटी हस्पिटल लगिएको थियो । त्यहाँ उपचार सम्भब नभएपछि बि एण्ड सी अस्पताल लगियो । त्यहाँ ६ दिन राख्दा पनि उपचार हुन सकेन । बच्चालाई नोबेल अस्पताल रेफर गर्नु पर्ने खबर बि एण्ड सीले दियो । तर पैसाको अभाबले परिवारले तुरुन्त उपचार गराउन सकेन । विद्यालयमा कुरा गर्दा ‘बैठक बस्दैछांै सहमति भएको छैन’ भनेर प्रिन्सीपल विष्णुप्रसाद कोईरालाले जानकारी गराएको मृतकको परिवारले जनाएको छ ।

स्कुलले २८ गते ५० हजार रुपैयाँ उपलब्ध गराएपछि नोबेल अस्पताल भर्ना गरियो तर अस्पतालमा आईसोलेसन बेड खालि नभएपछि साधारण बेडमा अक्सिजन दिँदै राखेको आधा घण्टा पछि मृत्यु भएको स्थानीय छिमेकी कृष्ण पौडेलले बताए । 

कुटपिटबाट नै बालकको ज्यान गएको भन्दै मृतकका परिवारलाइ उचित क्षतिपूर्तीको व्यवस्था मिलाउन परिवारले माग गरेको छ । कर्मचारी मगरलाई पढाउने अनुमती नभएको भन्दै उनलाई कडा कारबाही हुनुपर्ने मृतकका दाजु सन्दीप राजवंशीले माग गरेका छन् । शुक्रबार विद्यालयलाई विपक्षी बनाएर किटानी जाहेरी दिने उनले जानकारी दिए । हाल बालकको पोष्टमार्टम भएपनि शव नबुझ्ने उनको भनाइ छ ।  

बिद्यालयका प्रधानाध्यापक बिष्णुप्रसाद कोईरालाले भने शिक्षकले सामान्य कान ताने पनि बालकको पुरानै बिरामी निमोनियाका कारण मृत्यु भएको दाबी गरे । उनले विषयगत शिक्षक नभएको समयमा कर्मचारी मगरले कक्षा लिएको बताए ।

बालकलाई पोष्टमार्टमका लागि कोशि अस्पतालमा राखिएको छ । हाल शिक्षक  मगरलाई ईलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको बुझिएको छ ।