सुनसरीको इनरुवामा कार्यरत अनुसन्धान उप निर्देशक (एसपी) नगेन्द्र दाहालको फेसबुक म्यासेन्जर प्रयोग गरी मोबाइल बैंकिङ मार्फत रकम ठगी भएको पाइएको छ । 

राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका अनुसन्धान उप निर्देशक (एसपी) नगेन्द्र दाहालको फेसबुक ह्याक गरी म्यासेन्जर च्याट मार्फत रकम ठगी गरिएको पाइएको हो । 

स्वयं एसपी दाहालले आफ्नो आइडी ह्याक भएको व्यहोरा सहितको पोष्ट सामाजिक सञ्जालमा राखेका छन् । दाहालले ठगी कार्यमा गिरोह सकृय रहेको हुन सक्ने आशंका गर्दै त्यस्तो म्यासेज आएमा सचेत रहन भनेका छन् । उनले ह्याकरको खोजी थालिएको बताए । 

एसपी दाहालले कोही कसैलाई म्यासेजको भरमा परी रकम नपठाउन समेत भनेका छन् । उनले म्यासेजको आधारमा केही व्यक्ति ठगिमा परिसकेको बुझिएकाले जो कोहीलाई शंका लागे आफु वा नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेका छन् ।

राष्ट्रिय अनुसन्धानका एसपी दाहालको आइडीबाट पत्रकार अमर काफ्लेलाई रकम पठाइदिन गरिएको आग्रह पश्चात सो विषय बाहिरिएको थियो । शंका लागी पत्रकार काफ्लेले एसपी सँग फोन सम्पर्क गरेका थिए । त्यस पश्चात एसपीले आफ्नो आइडी ह्याक भएको हुन सक्ने भन्दै अनुसन्धान थाल्ने जानकारी दिए । 

काफ्ले सँग दाहालको आइडीबाट भएको च्याटमा एघार हजार एक सय रुपैंया साँझ सम्म फिर्ता दिने गरी पठाउन भनिएको थियो । पत्रकारको म्यासेन्जरमा पठाइएको म्यासेजमा संगत आङबुहाङको नाममा नबिल बैंकमा रहेको ०१६१००१७५१३६०६ नम्बर खातामा रकम पठाउन भनिएको थियो ।