इटहरी। बजारमा तोरी, सोयाबिन र सूर्यमुखी तेलको मूल्य छोइनसक्नु गरी बढेको छ । केही महिनायता तेलको भाउ आफू खुसी राखेर बिक्री वितरण भइरहेको छ । तेलको कृत्रिम अभाव गराउँदै मूल्य बढाएर बिक्री गरेको पाइएपछि इटहरी उपमहानगरले अनुगमन गरेको छ ।
तोरीको तेलको मूल्य पनि कम्पनीअनुसार लिटरमा २० रुपैयाँभन्दा बढीले बढेको खुद्रा व्यापारीहरूले बताएका छन् । होलसेलबाट बढेको मूल्यमा तेल आएको भनेर खुद्रा व्यापारीले बढी मूल्यमा तेल बिक्री गर्ने गरेका छन् । इटहरीमा रहेको हीरा होटलका सञ्चालक प्रकाश महतोले तेलको मूल्यको कारण आफूहरू समस्यामा परेको जनाए ।
अहिले तेलको मूल्य ह्वात्तै बढेको उनको गुनासो छ । एक महिनाको बीचमै तेलको भाउ लिटरमै २० देखि ३० रुपैयाँसम्मले बढेको सर्वसाधारणले गुनासो गरेका छन् । तेलको भाउ व्यापारीहरूले एक्कासि बढाएर बजारमा पठाएको उनीहरूको आरोप छ । तेलको अधिकतम खुद्रा बिक्री मूल्य बढेको नदेखिने गरी होलसेलले तेलको भाउ बढाएको खुद्रा व्यापारीहरूले बताएका छन् ।
यता सर्वसाधारणको चुलोमा दैनिक नभई नहुने खानेतेलको मूल्य अत्यधिक बढेको भन्दै इटहरी उपमहानगरपालिकाले चासो देखाएको छ । खानेतेलको मूल्य अनुगमन गर्दै उपमहानगरले व्यापारीहरूले मनपरी मूल्यमा तेल बेचेको निष्कर्ष निकालेको हो । व्यापारीहरूलाई पहिलो पटक चेतावनी दिएको छ । खानेतेलको मूल्य अस्वभाविक रूपमा बढेको भन्दै सर्वसाधारणले गुनासो गर्दै आएका छन् ।
इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले बजार अनुगमनका क्रममा तेलको मूल्य बढाएर बेचिरहेको पाइएको बताइन् । ‘एक महिनायता प्रतिलिटर ३ रुपैयाँ कम्पनीले बढाएको पाइए पनि बजारमा २० रुपैयाँ बढाएर बेचेको पाइयो’–उपप्रमुख गौतमले भनिन् । कडाइका साथ अनुगमन गर्दै जाने इटहरी उपमहानगरपालिकाले जनाएको छ ।
सय रुपैयाँमा बिक्री हुँदै आएको तेलको मूल्य उपभोक्ताले एक सय बीस रुपैयाँ तिर्न बाध्य हँुदै आएको पाइएको गौतमको भनाइ थियो । बजारमा सर्वसाधारणको गुनासो बढेसँगै खानेतेलको मूल्य बुझ्न बजार अनुगमन गरिएकोमा अधिकांश पसलहरूमा मनपरी मूल्य पाइएको उनी बताउँछिन् ।
‘बढी मूल्यमा तेल बेच्नेहरूलाई चेतावनी दिएका छौं, मानेनन् भने कारबाही गर्छौं’–उनले भनिन् । इटहरी उपमहानगरपालिका राजश्व शाखाका प्रमुख नवीन भट्टराईले बजारमा उपभोग्य वस्तुहरूको मूल्य बढाइएको भन्ने गुनासो आएपछि अनुगमन गर्दा इटहरीको आशिष ट्रेडर्सले बढी मूल्यमा खुद्रा व्यापारीहरूलाई बिक्री गर्ने गरेको पाइएको बताए । अनुमगनको क्रममै सेलो तेलको प्याकेटमा खुद्रामूल्य एक सय बीस लेखिएको पाइएको थियो ।