विराटनगर। मुलुकी अपराध संहिता २०७४ पछि बलात्कारजस्तो जघन्य अपराधमा सजाय बदलिए पनि बलात्कारको ग्राफ बर्सेनि उकालो लागेको छ । 

मोरङमा पछिल्लो ६ महिनामा ५५ जना महिला, किशोरी, बालिका बलात्कारको सिकारमा परेका छन् । सोमबार राति मोरङमा १४ वर्षीया बालिकालाई अपहरणको शैलीमा मकैबारीमा लगेर बलात्कार गरेको पाइएको छ । मोरङ जहदा गाउँपालिकाकी एक बालिकामाथि दुईजनाको समूहले बलात्कार गरेको हो । बलात्कारमा संलग्न दुई युवा फरार छन् ।

पिसाब फेर्नका लागि घरबाहिर निस्किएकी बालिकालाई मोटरसाइकलमा आएका दुई युवाले अपहरणको शैलीमा मोटरसाइकलमा राखेर करिब दुई किलोमिटर दक्षिण मकैबारीमा लगेर बलात्कार गरेको पीडितको भनाइ छ । ‘पिसाबले च्यापेपछि घरबाहिर निस्किएको थिएँ, २ जना केटाहरू बाइकमा आए र जबरजस्ती मेरो मुख थुनेर बाइकमा बसाएर लगे । म चिच्याउन खोज्दा पनि मेरो मुख थुनिदिए । मैले केही बोल्न सकिनँ’ –पीडित बालिकाले भनिन् । 

बलात्कारको आँकडा केलाउने हो भने चालु आर्थिक वर्षको पुस मसान्तसम्म ५५ वटा जबर्जस्ती करणी भएको मोरङ प्रहरीले जनाएको छ । त्यस्तै १६ वटा जबर्जस्ती करणी उद्योगका घटना दर्ता भएको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीको अर्धवार्षिक तथ्याङ्कअनुसार साउनमा १०, भदौमा ११, असोजमा ९, कात्तिकमा १०, मङ्सिरमा ६ र पुसमा ९ वटा जबरजस्ती करणीका घटनाहरू दर्ता भएका छन् ।

यस्तै जबरजस्ती करणी उद्योगतर्फ भने साउनमा ३, भदौमा २, असोजमा ६, कात्तिकमा २, मङ्सिरमा १ र पुसमा २ वटा घटनाहरू दर्ता भएको मोेरङ प्रहरीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता लोकदर्शन थापाले जानकारी दिए । 

मोरङ प्रहरीको पछिल्लो ३ वर्षको तथ्याङ्कअनुसार जिल्लामा आर्थिक वर्ष २०७४÷०७५ मा जबरजस्ती करणीका ८० र करणी उद्योगका ४७ वटा घटनाहरू दर्ता हुन आएका थिए । यस्तै २०७५÷०७६ मा पनि करणीका १ सय ७ र करणी उद्योगका ५७ वटा घटनाहरू दर्ता भएको मोरङ प्रहरीको तथ्याङ्क छ । अघिल्लो आर्थिक वर्षमा पनि मोरङमा करणीका ९२ र करणी उद्योगका ५२ वटा घटनाहरू दर्ता भएको मोरङ प्रहरीले जनाएको छ । 

यसरी भयो घटना

रातको समयमा घरबाहिर रोडनजिकै नालामा पिसाब फेर्न निस्किएकी ती बालिकालाई मोटरसाइकलमा आएका जहदा गाउँपालिका–१ का २२ वर्षीय जितेशकुमार यादव र सोही ठाउँका २१ वर्षीय अजय वैठाले मकैबारीमा लगेर सामूहिक करणी गरेको पीडितको आरोप छ । पीडित परिवारले मङ्गलबार इलाका प्रहरी कार्यालय रानी विराटनगरमा किटानी जाहेरी पनि दिएका छन् ।

इप्रका रानी विराटनगरले पीडितले दिएको जबरजस्ती करणीको किटानी जाहेरी दर्ता गरेर घटनाको अनुसन्धान सुरु गरेको रानीका प्रमुख इन्स्पेक्टर दीपक थापाले जानकारी दिए । ‘पीडितको जाहेरी परेपछि घटनाको अनुसन्धानको सुरु गरेका छौं । पीडितको स्वास्थ्य परीक्षण पनि भएको छ । रिपोर्ट आउन बाँकी छ ।’ प्रहरीमा जाहेरी परेपछि आरोपी फरार छन् । प्रहरीले उनीहरूको खोजी कार्य तीव्र बनाएको छ  ।

दुई युवाले जबरजस्ती बालिकाको मुख सलले थुनेर मोटरसाइकलमा राखी मकैबारीमा लगेर बलात्कार गरेको ती बालिकाको भनाइ छ । यता बालिकालाई मोटरसाइकलमा राख्नुभन्दा अगाडि छिमेकी वीरेन्द्र राजवंशीले २ जना व्यक्तिहरूलाई देखेको बताएका छन् । घटना हुनुभन्दा अगाडिदेखि नै २ जना युवाहरू ती बालिकाको घरछेउछाउ मोटरसाइकलमा डुलेको राजवंशीले बताए । तर, पछि रातको समयमा पुनः ती नै युवाहरूले बालिकालाई अपहरण शैलीमा लैजाँदै गरेको समेत देखेको उनले सुनाए ।

रातको समय र टाढा भएका कारण बालिकाको बुबालाई घटनाबारे जानकारी दिँदै मोटरसाइकलको पिछा गर्दा पनि आफूले नभेटेको उनले बताए । १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गर्नेहरूलाई हदैसम्मको कारबाही हुनुपर्ने स्थानीयहरूले बताएका छन् । उनीहरू चढेको मोटरसाइकलको पेट्रोल सकिएका कारण मोटरसाइकल स्थानीय उदितचन्द यादवको घरमा छोडेर भागेका थिए । बालिका लैजान प्रयोग गरिएको को.२२ प १८१६ नम्बरको डिस्कभर मोटरसाइकल इलाका प्रहरी कार्यालय बुधनगरको नियन्त्रणमा रहेको छ ।