धरान । धरान उपमहानगरपालिकाका सफाइकर्मीमाथि धारिलो हतियार प्रहार गर्ने युवालाई धरान प्रहरीले पक्राउ गरेको छ । 

शनिबार राति करिब ८ बजेर ४० मिनेट जाँदा धरान–१५ का २१ वर्षीय कैलाश मरिकमाथि छुरा प्रहार भएको थियो । छुरा प्रहारपछि फरार रहेका मोरङ पथरीशनिश्चरे नगरपालिका–६ घर भई धरान–१५ मा बस्दै आएका २३ वर्षीय ईश्वर परियारलाई पक्राउ गरिएको हो ।

धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको आरोपमा परियारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । घाइते बनेका मरिकको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट रिफर गरी मनमोहन सामुदायिक अस्पताल काठमाडौं पठाइएको छ ।

उनका अनुसार परियारलाई आइतबार नियन्त्रणमा लिई ज्यान मार्ने उद्योगमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।