विराटनगर। म्याद गुज्रिएको औषधिमा नयाँ लेवल टाँस गर्दै औषधि बिक्रीवितरणमा संलग्न व्यवसायीलाई १० लाख रुपैयाँभन्दा बढीको औषधिसहित प्रहरीले पक्राउ गरेको छ । 

लेवल लगाउन प्रयोग गरिने एचपी कम्पनीको ‘कलर प्रिण्टर’ पनि प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विराटनगर–१० न्यूरो अस्पतालअगाडिबाट हाम्रो फ्रेण्डसिप फार्मेसीका सञ्चालक विक्रम मण्डललाई पक्राउ गरेको हो ।

भारतबाट ल्याइएको प्रतिबन्धित औषधिमा नयाँ लेवल लगाउँदै गरेको अवस्थामा प्रहरीले मेसिनसहित पक्राउ गरेको हो । उनको स्थायी घर विराटनगर–५ हो । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काका अनुसार फार्मेसी र कोठाबाट ७९ प्रकारका प्रतिबन्धित औषधि बरामद गरिएको छ । उक्त प्रतिबन्धित औषधि विक्रमको दाजु विकास मण्डलले भारतदेखि तस्करी गरेर भण्डारण गर्ने गरेको खुलेको छ । भाइ पक्राउ भएको खबर पाएपछि दाजु फरार छन् । 

गतवर्षको फागुन १८ गते विकास म्याद सकिएको औषधि बिक्रीवितरण गरेको आरोपमा पक्राउ परेका थिए । औषधि व्यवस्था विभाग विराटनगरका तत्कालीन फार्मेसी अधिकृत चतुर्भुजप्रसाद यादव नेतृत्वको टोलीले मण्डलको फार्मेसीबाट म्याद सकिएको १५ प्रकारका औषधि फेला पारेको थियो । त्यसबेला पनि अनुगमन टोलीले मण्डलको फार्मेसी शिलबन्दी गरेर उनलाई पक्राउ गरी विभाग लगिएको थियो । मण्डलले मानव स्वास्थ्यमाथि गम्भीर खेलवाड गरी म्याद सकिएको औषधि बिक्रीवितरण गरेको अनुसन्धानबाट खुलेपछि उनलाई औषधि ऐनअनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइएको थियो भने मोरङ अदालतका तत्कालीन न्यायाधीश तेजबहादुर खड्काको इजलासले २५ असारमा तीन लाख रुपैयाँ धरौटीमा उनलाई छाड्न आदेश दिएको थियो ।

सोही दिन मण्डलले अदालतले तोकेको धरौटी रकम बुझाई रिहा भएका थिए । धरौटीमा छुटेपछि पनि उनी पुनः सोही धन्दामा लागेको पक्राउपछि पुष्टि भएको छ । आइतबार राति मोरङ प्रहरीका प्रहरी निरीक्षक पुप्पु नायकको नेतृत्वमा गएको टोलीले यादवको डेराबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधि र म्याद सकिएको औषधिमा नयाँ मिति उल्लेख भएको लेवल तथा उपकरण बरामद गरेको थियो । 

दाजु ल्याउने, भाइ बेच्ने

भारतमा सस्तोमै औषधि पाइने भएपछि विकासले औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधि तस्करी गरी ल्याउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । विकासले भारतबाट तस्करी गरेर प्रतिबन्धित औषधि ल्याउने र विक्रमले ‘हाम्रो फ्रेण्डसिप फार्मेसी’ मा ल्याएर बिक्रीवितरण गर्ने गरेको प्रहरीले जनाएको छ । विकासले प्रतिबन्धित औषधि अन्य फार्मेसीहरूमा पनि दिएको हुनसक्ने भएकोले मोरङ प्रहरीले त्यसतर्फ पनि अनुसन्धानको दायरा बढाएको छ ।

‘पक्राउ परेका मण्डलले प्रतिबन्धित औषधि डेरामा भण्डारण गरी बिक्रीवितरण गर्ने गरेको प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ’ मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले भने, ‘प्रहरीले छापा मारेर विभिन्न ब्राण्डका प्रतिबन्धित औषधिहरू बरामद गरिएको हो ।’ प्रहरीले बरामद गरेको औषधि अन्दाजी १० लाख ३ हजार १ सय ८० बराबरको रहेको छ । मोरङ प्रहरीले आवश्यक कारबाहीको लागि विराटनगरस्थित औषधि व्यवस्था विभागको कार्यालयमा बुझाएको छ । पक्राउ परेका विक्रमलाई औषधि व्यवस्था विभागले औषधि ऐनअनुसार कारबाहीको प्रक्रिया अगाडि बढाउने नेपाल औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख सञ्जीव शर्मा कट्टेलले जानकारी दिए ।

पक्राउ परेका मण्डल र फरार भएका विकासलाई विभागले प्रतिवादी बनाएर अदालतमा अभियोग दर्ता गर्ने भएको छ । यसअघि पनि विकास पक्राउ परेकाले विभागले पटकेको रूपमा माग दाबी लिएर सरकारी वकिलको कार्यालयमार्फत् अदालतमा अभियोग दर्ता गर्ने तयारी गरेको छ । औषधि ऐन दफा ३४ (घ) बमोजिम औषधिको अनुचित प्रयोग गरेको पुष्टि भएको खण्डमा ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिबानाको कानूनी व्यवस्था छ ।