भद्रपुर । प्रहरी माथि हातपात गरेको आरोपमा झापामा दुईजना पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यालय वनियानीका सई डम्बरबहादुर बस्नेतमाथि हातपात गरेको आरोपमा कचनकवल–६ का ३५ वर्षिय रतन राजवंशी र सोही वडाका ३३ वर्षिय डिल्ली राजवंशी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले दिएको विवरण अनुसार सइ बस्नेतको नेतृत्वमा आइतबार साढे ५ बजे वनियानी चोकमा प्रहरी खटिएको थियो । सोही समयमा डिल्ली राजवंशीले विना हेलमेट सवारी साधन चलाइरहेको अवस्थामा प्रहरीले रोकेपछि विवाद भएको थियो । सोहि क्रममा गालीगलौज गर्दै सइ बस्नेतमाथि हातपात गरेपछि उनीहरुलाइ नियन्त्रणमा लिइएको जिल्लाका डिएसपी राकेश थापाले जनाए । हातपातबाट प्रहरीलाइ चोटपटक समेत लागेको उनको भनाई छ ।

घट्नापछि आरोपिलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।