इनरुवा । प्रहरीको चेक पोइन्ट र ब्यारिकेट छल्दै भागेको स्कारपियोबाट सुनसरी प्रहरीले २ सय ५० किलो गाँजा बरामद गरेको छ ।

प्रहरी टोलीले सुनसरीको इनरुवाबाट सो परिमाणको गाँजा बरामद गरेको हो । प्रहरीले इनरुवाको बलाहा नहर क्षेत्रबाट गाँजाका बोरा लोड गरिएको स्कारपियो नियन्त्रणमा लिएको थियो ।

प्रहरीले को १ च ९८५२ नम्बरको स्कारपियोबाट २ सय ५० किलो गाँजा सहित दुई थान खुकुरी र १ लाख ५४ हजार नगद बरामद गरेको जनाएको छ ।

गाँजा सहित प्रहरीले भोजपुर हतुवागढी ९ का अर्जुन खड्का र धरान १ का ज्याक्सन श्रेष्ठ पक्राउ गरेको छ । नियन्त्रणमा लिइएका व्यक्ति सहित बरामद सामग्री प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार गाँजा तस्करीको सुराकीको आधारमा प्रहरीले मध्यराती बाटै विभिन्न स्थानमा चेक पोइन्ट राखेको थियो । सो क्रममा स्कारपियो प्रहरीको ब्यारिकेट समेतलाई ठक्कर दिदै भागेको बताइएको छ ।

भाग्ने क्रममा स्कारपियोले दुईवटा मोटरसाइकल समेतलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । सो क्रममा ब्यारिकेट उछिटिएर चतरा कोशी पुलमा ड्यूटीमा खटिएका प्रहरी जवान उदय राई घाइते भएको सुनसरी प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रहरी प्रमुख कमल थापाले दिएको जानकारी अनुसार रातीको १ बजेबाट गाँजा लोड गरिएको गाडीको पिछा गरेको प्रहरीले स्कारपियोलाई नियन्त्रणमा लिन एक राउण्ड फायर समेत गरेको बताए । त्यसका बाबजुत स्कारपियो भागेपछि प्रहरीले थप पोइन्ट राखी खोजी गर्ने क्रममा नियन्त्रणमा लिन सफल भएको बताए ।

सुनसरी प्रहरीका अनुसार चतरा कोशी पुल देखिका विभिन्न स्थानमा चेक पोइन्ट र ब्यारिकेट राखिएको थियो । ठक्कर दिँदै भागेको स्कारपियोलाई सखुवागाछीमा रोक्न प्रहरीले गाडी तेर्साएपछि नहर तर्फबाट भाग्ने क्रममा बलाहा खण्डबाट नियन्त्रणमा लिइएको हो ।  

प्रहरीले स्कारपियोबाट प्लाष्टिकले बेरिएको अवस्थाका ९ ओटा बोराबाट २ सय ५० केजी तयारी गाँजा बरामद भएको जनाएको छ । गाँजा सहित प्रहरीले २ थान खुकुरी र १ लाख ५४ हजार नगद समेत बरामद गरेको छ ।  

सुनसरी प्रहरीका अनुसार पक्राउ परेकाको हकमा म्याद थप गरी अनुसन्धान थालिएको छ । प्रहरीले बरामद गाँजा धनकुटा लगायतका क्षेत्रबाट कोशी नदी हुँदै सुनसरीको चतरा सम्म ल्याइएको र त्यहाँबाट गाडीमा हाली भारत तर्फ लैजान खोजिएको हुन सक्ने जनाएको छ ।