विराटनगर । मिटरब्याजको धन्दा चलाएर सर्वसाधारणबाट करोडौं असुलेको आरोपमा पक्राउ परेका विराटनगर – ९ घोघापुलचौकका ४५ वर्षिय मन्टु भनिने सञ्जयप्रसाद रौनियार पूर्पक्षको लागि जेल चलान भएका छन् । 

मोरङ अदालतका न्यायाधीश ईश्वर पराजुलीको इजालासले सोमबार मन्टुलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेशपछि मन्टु पुर्पक्षको लागि विराटनगर कारागार चलान भएको मोरङ अदालतका स्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए । 

अवैध मानिएको मिटरब्याजमा लगानी गरि मन्टुले मोरङका १७ जना सर्वसाधारणबाट करोडौं रुपैयाँ असुली गरेपछि उनी विरूद्ध ‘ठगी’ र अपराधिक लाभ लिएको मोरङ अदालतमा मुद्दा दर्ता भएको थियो । छुटाछुट्टै जाहेरी परेकोले मन्टु विरूद्ध मोरङ अदालतमा १७ थान मुद्दा १२ माघमा दर्ता भएको थियो । बादी र प्रतिवादीका कानुन व्यवसायीहरूले पैरवी गरेपछि न्यायाधीश पराजुलीले १३ थान मुद्दामा पुर्पक्षको लागि थुनामा र ४ थान मुद्दामा धरौटी तोकिएको स्रेस्तेदार दाहालले जानकारी दिए ।