विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदम र उनको अंहकारलाई सबै लोकतन्त्रवादी शक्ति मिलेर परास्त गरिनुपर्ने बताएका छन् । 

नेपाली काँग्रेसको संयुक्त भातृ संघले विराटनगरमा सोमबार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता पौडेलले प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटन पुनःस्थापना नभएसम्म सबै मिलेर आन्दोलन गरिनुपर्ने बताएका हुन् । ‘प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक र संविधानमा नभएको अधिकार प्रयोग गरि प्रतिनिधि सभा विघटन गरेका छन्,’ उनले भने, ‘असंवैधानिक तरिकाले गरेको संसद विघटन सर्वोच्च अदालतले सच्याउनेछ । यसमा हामी सबैले विश्वास लिएका छौं ।’ 

संसद पुनःस्थापना नभएसम्म काँग्रेसले आन्दोलनको कार्यक्रम जारी राख्ने पनि उनले बताए । प्रधानमन्त्री ओलीले संवैधानिक निकायामा नियुक्त गैरकानुनी भएको उनले बताए । ‘अहिले संवैधानिक नियायहरूमा नियुक्ति गरेको गरैकानुनी छ,’ उनले भने, ‘यसमा काँग्रेसको आपत्ती छ । यस्तो कदम सच्याउनुपर्दछ ।’ ओलीले घोषणा गरेको निर्वाचन पनि हुन नसक्ने उनले ठोकुवा गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता अमृत अर्यालले प्रधानमन्त्रीले गरेको असंवैधानिक कदमले मुलुकलाई प्रतिगमनतर्फ लगेको बताए । ओलीको कदम प्रतिगामी र गैरराजनैतिक चरित्र देखाएको उनले बताए । काँग्रेसको मोरङ अध्यक्ष डिकबहादुर लिम्बुले संसद् बिघटन गरेर मुलुकलाई प्रतिगमनतर्फ लगेकाले त्यसलाई नसच्याउञ्जेल आन्दोलन जारी रहने बताए । ‘प्रतिगमन सच्याएर मुलुक अघि बढिसकेको थियो तर प्रधानमन्त्री ओलीले असंबैधानिक कदमले मुलुक पूनः प्रतिगमनतर्फ गएको छ,’ उनले भने, ‘यसले अस्थिरता चाहने, प्रतिगामी शक्तीकेन्द्र र कतिपय बाह्य शक्ती खुशी भएका छन् ।’ प्रधानमन्त्रीको असंवैधानिक कदमले स्थिरता चाहने जनता निरास भएको उनले बताए । 

कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले प्रतिनिधी सभा पुनःस्थापना नभएसम्म मुलुकले निकास नहुने भएकोले असंवैधानिक कदम सच्याउन निरन्तर आन्दोलनमा गरिनुपर्ने बताए ।